माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना विरुद्ध लेख लेखेको भन्दै तरुण साप्ताहिकलाई तीन महिनापछि मुद्धा हालेका छन् । तरुणको गत साउन २६ को अंकमा प्रकाशित दीर्घराज प्रसाईको "देशद्रोहीका विरूद्धमा खाडो जगाऔं" शीर्षक लेखमा माओवादी नेता भट्टराईले भारतीय चाहना पूरा गर्न लागिपरेका भन्नै आशयको लेख छापिएको रहेछ । भट्टराईलै मुद्धा दिएपछि गाली बेइज्जती मुद्धामा काठमाडौं जिल्ला अदालतले विपक्षीका नाममा म्याद जारी गरेको छ । अदालतले पत्रिकाका प्रकाशक सम्पादक परशु घिमिरे, सहसम्पादक विन्दुकान्त घिमिरे, लेखक दीर्घराज प्रसाई र प्रबन्ध निर्देशक सीबी खड्कालाई अदालतमा उपस्थित हुन आदेश पनि दिएको छ ।
नागरिक दैनिकले जनाए बमोजिम आफूले बोल्दै नबोलेको वाक्य आफूसंग जोडी लेखिएकाले इज्जत, मानमर्यादा र सार्वजनिक जीवनमा प्रत्यक्ष असर परेको र ख्यातिमा अपूरणीय क्षति पुर्याउने योजनाले लेख प्रकाशित गरेको मुद्धामा उल्लेख छ । उनले गाली बेइज्जती ऐन ०१६ बमोजिम हदैसम्मको कारबाही माग गरेका छन् । उनले उक्त पत्रिका छाप्ने अन्नपूर्ण प्रेस तथा विक्रीवितरण गर्ने तरूण प्रकाशन प्रालिलाई दफा ६ बमोजिम कारबाही माग गरेका छन् । उक्त ऐनको दफा ५ बमोजिम गाली बेइज्जती गरेको ठहरे ५ हजार रुपैया जरिवाना र दुई वर्षसम्म कैद सजाय हुन सक्छ । यस्तै, दफा ६ मा यस्ता सामग्री प्रकाशित भएको पत्रिका जानिजानी विक्रीवितरण गर्नेलाई एक सय रुपैयासम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुनसक्छ । राष्ट्रिय अखण्डता, स्वाधीनताप्रति आफ्नो योगदानलाई निस्तेज बनाउन जानिजानी त्यस्तो लेख छापेकाले आफूलाई अधिकतम क्षतिपूति भराउन पनि उनले अदालतसमक्ष माग गरेका छन् । तरुण साप्ताहिक कांग्रेस निकटको पत्रिका भएको कारणले पनि भट्टराईको उछितो काडेको होला ।
भट्टराईको आरोप सहि वा गलत के हो ? त्यो त अदालतले छिनोफाने गर्ला । तर नेपालका साप्ताहिक पत्रिकामा देखिएको विकृतिलाई भट्टराईको यो कदमले केहि हच्काईदिएको चाहि अवश्य हो । मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने बार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन । तर भट्टराई पनि चोखा चाहि छैनन् है अरुको मानमर्दन गर्न र गाली गर्ने सवालमा । उनीहरुले जनपक्षिय पत्रकारिता भन्दै मान्दै आएको जनादेश,जनदिशा जस्ता पत्रिकाले आफ्ना राजनीतिक विरोधिलाई गर्ने गाली र भट्टराई आफैले अरु नेतालाई गर्ने गालीका विरुद्ध सबै अदालत गए भने चाहि के होला नि फेरि ? तरुण साप्ताहिकले सजाय भोग्न पर्यो भने प्रेस स्वतन्त्रता भन्दै पत्रकार महासंघ सडकमा ओर्लन बेर लाग्दैन ऋषि धमलाको पक्षमा झैं ।
अरु बेला पत्रिकामा प्रकाशित समाचार र विचारलाई त्यति महत्व दिनै चलन न नेताले गर्थे न जनताले । विदेशमा त पत्रिकामा प्रकाशित समाचार र विचारको आधारमा जनताले जानकारी पाउने चलन छ । तर नेताले जे बोल्छन् पत्रिकाले उल्टो लेख्छन् । पत्रिकाले जे लेख्छन् नेताले उल्टो बोलिदिन्छन् । अस्ति भर्खर नयाँ पत्रिकामा एमाले उपाध्यक्ष अशोक राईको भनाईलाई आधार बनाएर एउटा समाचार छापियो कांग्रेसले संविधान सभा विघटन गर्ने प्रस्ताव ल्याएको भनेर । तर भोलिपल्टै अशोक राईको खण्डन आयो नागरिक दैनिकमा मैले यसो भनेकै छैन भनेर । पत्रिका नै गलत हो कि नेताको बोलि गलत हो ? हिम्मत भए एमाले उपाध्यक्ष अशोक राईले पनि नयाँ पत्रिकालाई मुद्धा हाले हुन्थ्यो नि । तर डाक्टरसाहेबले चाहि तरुण साप्ताहिकलाई मुद्धा हालेर देखाईदिएका छन् । अब चाहि पत्रकारको कलम समाचार र विचार लेख्ने बेलामा एकैछिन भएपनि घोरिन्छ कि ?
|