अमेरिकाको साउथ क्यारोलाइनाको वेलर्फड नगरकी मेयर स्याली पिकेले अपराधी पक्राउ गर्न प्रहरीलाई दौडन (खतरा मोल्न) प्रतिबन्ध लगाएको आश्चर्यजनक समाचार बाहिर आइरहेका बेला यता नेपालका प्रधानमन्त्री भने नेपाल प्रहरीका अधिकृतहरुले अपराधी पक्रने जाँगर नदेखाएकोमा गुनासो गरिरहेका थिए । ती अमेरिकन मेयर गत जनवरीमा एउटा कोकिन बोकेको अपराधीलाई एक प्रहरी अधिकृतले लखेट्दै कुदेको भोलिपल्ट काममा आउन नसकेको अवस्थाबाट चिन्तित थिए भने यता नेपालका प्रधानमन्त्री भने सञ्चार उद्यमीको क्रमवद्ध हत्या र अनियन्त्रित गोली काण्डपश्चातको अस्तव्यस्ताबाट चिन्तित थिए । देशको प्रधानमन्त्री देशकै आन्तरिक सुरक्षाको जिम्मा लिएको संगठनसँग असन्तुष्ट हुनु र त्यो 'असन्तुष्टि' सार्वजनिक रुपमै बाहिर आउनु उदेकलाग्दो र सोचनीय अवस्था हो ।
सँगसँगै समाचारहरु बाहिर आइरहेछन् । यता शान्तिसुरक्षा असफल भनेर आफ्नै पार्टीभित्र गृहमन्त्रीको राजीनामा मागिएको कुरा अनि नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकलाई उनी मातहतका अधिकृतहरुले 'कमजोर हुनुभएन, दह्रो हुनुपर्यो' भनी गुनासो गरेका कुरा । अनि समाचार बाहिरिएको छ, इन्स्पेक्टरको सरुवा लिष्ट खल्तीमा बोकेर गृहमन्त्री हिँडिरहेको छ, अनि त्यसको इन्तजारमा प्रहरी महानिरीक्षक सिंहदरबारतिर नजर लगाइरहेको छ । यी दृश्यहरु यस्तो बेलामा भइरहेको छ, जुन बेला राजधानीका सडकहरुमा गोलीकाण्डहरु दोहोरिरहेछन, सञ्चार उद्यमीहरु मारिइरहेछन्, अन्य व्यवसायीहरु आतंकित छन्, प्रहरी चौकीहरु ध्वस्त पारिइरहेछन्, गोलीकाण्ड बहालवाला अनि पूर्व प्रहरी अधिकृतका नामहरु जोडिइरहेछन् । अरु त अरु सिनियर प्रहरी अधिकृतहरु आफ्नै सुरक्षा माग्नुपर्ने अवस्थामा सिर्जना भएको अति संवेदनशील समाचार पनि आइरहेछन् । देख्ने अनि भोग्नेलाई त कुन्नी, तर सुन्नेलाई त विश्वास पनि नलाग्ला ।
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ? कि अरु कुनै कारण विद्यमान छ सुरक्षा व्यवस्था कायम हुन नसक्नु अनि सुरक्षा संयन्त्र कमजोर हुनुमा ? आफूमुनिका अधिकृतले दह्रो हुनुपर्यो आइजी साव भनेर प्रहरीफोर्सका कमान्डरलाई भन्नुपर्ने अवस्था नै आइपरेकै हो त ? एकताका यस्ता व्यक्ति पनि प्रहरी महानिरीक्षक भएका थिए, जो गृहमन्त्रीलाई सार्वजनिक कार्यक्रममै 'गृहबहादुर' भनेर सम्बोधन गर्ने दुस्साहस गर्थे रे, तर आज एसपीसम्म सरुवा गर्नसक्ने कानुनी अधिकार बोकेर पनि इन्स्पेक्टरको सरुवा लिष्ट गृहमन्त्रीको खल्तीमा रहेको टुलुटुलु हेर्नुपर्ने आइजीको स्थिति ? अनि भनिन्थ्यो- ती आइजीपीको कार्यकक्षमा प्रवेश गर्नुअघि डिआइजीले ढोका नक -टकटक) गर्दा हातको औंलाचाहिँ वरै हल्लिएको हुन्थ्यो रे तर ढोकामा लाग्दैनथ्यो रे । तर, अहिले उल्टै मातहतकाले 'हजुर दह्रो हुनुपर्यो' भनेर भन्नुपर्ने स्थिति ? के यिनै परिस्थितिहरु हुन् त जिम्मेवार ?
के देशको प्रधानमन्त्रीले भनेझैं जाँगर मरेकै हो त प्रहरीको ? अनि जाँगर मर्ने विद्यमान कारणसँग परिचित छन् त सरकार प्रमुख ? अनि ती 'विद्यमान कारण' हटाउन लालयित छन् त प्रधानमन्त्री ?
सामान्य तवरले हेर्दा पनि अहिलेको सुरक्षाको तरलतामा दुईवटा अवस्था देखिन्छन्, एउटा- आपराधिक गिरोहसँगै प्रहरीको सम्बन्ध, सम्पर्क' दोस्रो- गर्नेले गरिरहेको, नगर्नेले नगरे पनि भइरहेको । यसले दुईवटा कुरालाई इंगित गर्दछ, पहिलो प्रहरीको छनोट -भर्ना) प्रक्रिया (सही वा गलत व्यक्ति) र अर्को आदेशको श्रृंखला -चेन अफ कमान्ड) प्रहरी भर्नाको अवस्था चित्रण गर्न माथिल्लो दर्जाको त कुरै नगरौं, सबैभन्दा तल्लो दर्जासमेत कति प्रभावित हुन्छ, वाह्य वातावरणबाट । आफैंले भोगेको अनुभवलाई उद्धृत गर्नुपर्दा, लगभग चौध वर्षअघि पूर्व क्षेत्रको विराटनगरमा प्रहरी जवान छनोट प्रक्रिया चलिरहेको थियो । तत्कालीन डिआइजीले हामी छनोट समितिमा भएका अधिकृतहरुलाई कडाइका साथ निर्देशन दिए- म यस पटक घोडा-घोडा (राम्रो, रहरलाग्दो) केटाहरु छनोट भएको हेर्न चाहन्छु, त्यसैबाट तिमीहरुको मूल्यांकन पनि हुनेछ । जल्दोबल्दो डिआइजीको आदेश -जो पछि आइजिपी पनि भए), बडो इमानदार भएर छनोटमा लागियो । 'हाम्रो होइन, राम्रो' छान्नतिर लागियो । प्रत्येक दिनभरिको छनोट परीक्षा पश्चात परिणाम तयार गर्ने बेलामा डिआइजकिा पिए लिष्ट लिएर आउँथे । प्रत्येक दिन त्यसलाई हाम्रो छनोट परीक्षमा सफल भएकाहरुको लिष्टसँग दाज्थ्यौं । डिआइजीको लिष्ट तीन भागमा विभाजित हुन्थ्यो । 'ए', 'बी', 'सी' । 'ए' अर्थात् कुनै पनि हालतमा पास गर्नैपर्ने । 'बी' अर्थात उचाइ र तौल पुगेको छ भने परीक्षामा असफल भए पनि पास गर्नैपर्ने ।
अनि, 'सी' अर्थात यसो हेरिदिनुपर्ने । हजारौंको छनोट परीक्षामा सहभागिता जनाएका थिए । तसर्थ हप्ता दिनसम्म खटिएर लाग्नुपर्ने फिजिकल, मेडिकल, लिखित गर्दै छनोट गर्दा दिनभरि मिहिनेत गर्ने शारीरिक तन्दुरुस्ती लगायत परीक्षामा पास गर्नेहरु साँझ परिणाम प्रकाशित गर्दा हटाउँदै जानुपर्ने । कारण, सीमित कोटा । फेललाई स्थान दिँदा पासलाई हटाउनुपर्ने । आदेशको जवाफ छैन भन्ने सिद्धान्त मान्नुपर्ने । हामीले हाम्रोलाई होइन, राम्रोलाई ठाउँ दियौं तर माथिबाट आएको लिष्टमा राम्रोलाई होइन, हाम्रो (कसैको ?) लाई स्थान दिएको हुन्थ्यो । हामीलाई कडा निर्देशन दिएर 'घोडा-घोडा' खोज्ने डिआइजकिो दोहोरो व्यवहारले हाम्रो जाँगर त मर्यो तर पनि गर्नैपर्यो । तर, जब अन्तिम परिणाम प्रकाशित भयो, ती डिआइजीले हामीलाई अगाडि राखेर निरीहता देखाए, 'मैले घोडा-घोडा चाहेको थिएँ, तर मुसा-मुसा गर्नुपर्यो, आफूले चाहेर नहुने, तर पनि तिमीहरुलाई धन्यवाद' ती मुसाहरु कोही प्रधानमन्त्री, गृहमन्त्री अनि पूर्व प्रधानमन्त्री, गृहमन्त्री, ठुटे नेताहरका आफ्ना मान्छे थिए । यी एउटा प्रतिनिधि घटना हुन् । सायद अहिले आपराधिक समुहका लागि काम गर्नेहरु यस्तै नेताका हाम्रा मान्छे होलान् । ती भर्ना हुँदा नै प्रहरीका लागि नभएर कसैका लागि थिए ।
अर्को सबैभन्दा खस्किएको अवस्था भनेको आदेशको श्रृंखला (चेन अफ कमान्ड) टुट्नु । यसको अनुभूति सबैभन्दा बढी सायद प्रधानमन्त्रीलाई नै होला । जब पुरा सुरक्षा नीतिमा ध्यान दिनुपर्ने गृहमन्त्री इन्स्पेक्टरको सरुवाको लिष्ट बोकेर हिँडिरहेको हुन्छ । तब आइजिपीको अवस्था के हुनसक्छ ? अरु उनी मातहतको अधिकृतको मनोवलको त कुरै नगरौं । दण्ड र पुरस्कारले फोर्स चल्छ, जब ती दुईटै कुरा लागू गर्न नसकिने अवस्था हु्रन्छ भने तब के हुन्छ ? जब कुनै अधिकृत आफैं अपराधीलाई भगाइरहेको हुन्छ, तब प्रहरी जवानलाई त्यही अपराधीलाई किन समानितन् ? भनेर निलम्बन गरेर के हुन्छ ? उसलाई दण्डमात्र दिन सक्ने, तर पुरस्कार दिन नसक्ने नेतृत्वसँग किन लगाव राख्छ र ? मानिस दुईवटा कुरामा परिचालित (मोटिभेट) हुन्छ- कि मेरो केही लिइदेला भन्ने डरले कि त मलाई केही देला भन्ने आसले । यी दुवै कुरा आफ्नो हातमा छैन भन्ने मातहतले महसुस गर्यो भने तब नेतृत्वमा बस्नेको हातबाट लगाम अन्यत्र जान्छ, जब यस्तो स्थिति सिर्जना हुन्छ तब कुनै पनि संगठनको आदेशको श्रृंखला (चेन अफ कमान्ड) खुस्किन्छ नै । झन फौजी संगठनको त मियो नै भाँचिन्छ ।
सायद अहिलेको अवस्था त्यसैको परिणाम हुनसक्छ । कतै नेपाल प्रहरीभित्र भएको कुरा पनि त्यही त होइन ? के होला प्रधानमन्त्रीज्यूले नेपाल प्रहरीभित्रको जाँगर खोज्नुको तात्पर्य ? यदि त्यसको तात्पर्य प्रधानमन्त्रीले नेपाल प्रहरीभित्र जाँगर भर्न चाहनु भएकै हो भने अब गृहमन्त्रीको गल्ती इन्स्पेक्टरको सरुवाको लिष्टले होइन, देशको सम्पूर्ण सुरक्षा नीतिसम्बन्धी उद्देश्यपूर्ण कार्यपत्रले भरिएको हुनुपर्छ अनि प्रहरीको छनोटमा साँझ आउने 'मुसा' को लिष्टले होइन दिनभरि परीक्षाको मैदानमा खसो उत्रिने 'माइ बाप' कोही नभएका 'घोडा-घोडा' ले स्थान पाउनुपर्छ । यति भयो भने, अपराधी बोकेर थानकोट कटाउने मोटरसाइकलहरु अपराधी खोज्न कुद्नेछन् । अनि प्रधानमन्त्रीज्यूले भन्नुभएझैं नेपाल प्रहरीका अधिकृतहरु अपराधी समात्न भारत नै पुग्नुपर्ने छैन । ती सिमानाभित्रै समातिनेछन् । सायद तपाईंले खोजेको नेपाल प्रहरीको जाँगर पनि त्यही होला । तर, त्यो वातावरण बनाउनका लागि के गर्नुपर्छ ? के हुनुपर्छ ? भन्ने कुरा गर्ने जाँगर प्रधानमन्त्री आफैंलाई पनि जाग्नुपर्छ । कमसेकम अरुको जाँगर हेर्नलाई पहिले आफैंमा जाँगर पलाउनुपर्छ ।