जापान

जापानी बजारमा काली मार्सी र जुम्लाको सिमी, क्यानडा पनि पठाउने तयारी

नेपालको राजनीतिम निकै चर्चामा आएको जुम्लाको रैथाने काली मार्सी धानको चामलले अन्तर्राष्ट्रिय बजार पाएको छ । मार्सीसंगै जुम्लाको सिमी लगायतका कृषि उत्पादनले पनि विदेशी बजारमा माग बढाएको छ ।

नेपालको स्थानीय बजारमै कमै पाइने काली मार्सी लगायतका कृषि उत्पादन यसपटक जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले जुम्ला जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।

व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ । ”

कर्णालीका खाद्य पदार्थ व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयवासी बताउँछन् । निर्यात भएसँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।

यसै गरी बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी, हरियो केराउ र कोदो गरेर एक टन क्यानडामा माग भएको सञ्चालक शाहीले बताउनुभयो । क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलका समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ ।

ती सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उहाँले बताउनुभयो । “जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्”, उहाँले भन्नुभयो, “क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”

काठमाडौँको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अग्र्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.