शिवमाया सभामुखको सशक्त दावेदार- पहिला उपसभामुखबाट राजीनामा दिनुपर्छ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख तुम्बाहाङ्फे पार्टीबाट सभामुखको सशक्त दाबेदार भएको बताउनुभएको छ । उहाँले तुम्बाहाम्फे सशक्त दावेदार भए पनि पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिने भएकाले उपसभामुखले पहिला राजीनामा दिनुपर्ने पनि बताउनुभएको छ ।
सत्तारुढ नेकपा सचिवालय र दुई अध्यक्षले उपसभामुखबाट राजीनामा दिन दिएको निर्देशन अटेर गरी आफूलाई सभामुख बनाउनुपर्ने माग गर्दौ आउनुभएका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिने सकेको गर्नुस् भन्ने ओठे जवाफ फर्काएपछि नेकपा नेतृत्व संकटमा परेको अवस्थामा प्रवक्ता श्रेष्ठले पार्टीको हित र उपसभामुखको दावी दुबैको ख्याल गर्नुपर्ने बताउनुभएको हो ।
प्रवक्ता श्रेष्ठले मंगलबार लमजुङमा पत्रकारहरुसँग कुराकानी गर्दै उपसभामुख तुम्बाहाङ्फेको दावी सही रहेको भए पनि राजीनामा दिन सुझाव दिनुभएको हो । श्रेष्ठले भन्नुभयो, “उपसभामुखले दावी गर्ने हक राख्नुहुन्छ, सभामुख उहाँ बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ । उहाँ नै हुनसक्नु होला तर उहाँ उपसभामुख भएर त हुन्न । उहाँले राजीनामा दिएपछि पार्टीले निर्णय गर्छ ।”
अर्को एक प्रश्नमा श्रेष्ठले पार्टीभित्र सांगठनिक एकीकरण पुरा नभएको अवस्थामा पूर्व माओवादी र पूर्व एमाले भन्ने रहने बताए। तर पार्टीभित्र पूर्व समूहको अवशेष मेटाउने र पार्टी एक बनाएर जान छलफल भैरहेको उनको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्