अर्थकृषि

सात अर्ब रुपैयाँको मकैको बीउ मात्र आयात

कृषिप्रधान मुलुक नेपालको कृषिप्रणालीको सुधारका लागि माटोको क्षमता अनुसारको आफ्नै बीउ विकसित हुनुपर्नेमा आयातमा निर्भर हुँदा दोहोरो घाटा भैरहेको छ । कुनै एक बालीको मात्र हैन प्रायःजसो सबै अन्नबालीको बीउ आयातमा निर्भर हुँदा व्यापारघाटा बढाउन अरु सहयोग भैरहेको छ ।

पछिल्लो समय मकैको बीउ आयातमा निर्भर रहेको देखिएको छ । मकैखेती गर्ने मौसम सुरु हुनै लाग्दा चालु आर्थिक वर्षको पहिलो चार महिनामा झण्डै सात अर्ब रुपैयाँ बराबरका विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् ।

मकैका बीउमा परनिर्भरता बढ्दै जान थालेपछि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा बीउको आयात बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात (हाइब्रिड) मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले बीउमा परनिर्भरता ह्वात्तै बढेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेनटिन, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट रु छ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् ।

तीमध्ये सबैभन्दा बढी भारतबाट रु छ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी मकैको बीउ आयात हुने मुलुकमा अर्जेनटिना हो । सोही अवधिमा सो मुलुकबाट रु ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकैका बीउ आयात भएको छ ।

तेस्रो मकैको बीउ आयात हुने मुलुकमा दक्षिण अफ्रिका पर्दछ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सो मुलुकबाट रु १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकैको बीउ आयात भएको छ । यसैगरी सो अवधिमा ब्राजिलबाट सात लाख ९२ हजार २४० केजी, टर्कीबाट तीन लाख ४५ हजार केजी, अमेरिकाबाट तीन लाख आठ हजार ४२० केजी र क्यानडाबाट सात हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ ।

आयात भएको मकैको बीउ खरिद गर्दा नेपालले ब्राजिललाई रु छ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई रु दुइ करोड ९६ लाख ९७ हजार र क्यानडालाई रु ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट राज्यले रु ३७ करोड चार लाख ४२ हजार भन्सार असुली गरेको छ ।

नेपालीका प्रमुख आहार धान पछि मकै हो । पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ग्रामीण जनताको दैनिक खाद्यान्न बाली मकै हो । मकैको बीउ आयातले स्थानीय जातको लोकल बीउलाई बहुर्राष्ट्रिय कम्पनीका बहुजातीय बीउले विस्थापित गर्ने सम्भावना बढेर गएको छ । मकैबाट पिठो बनाएर ढिडो, रोटी, पुवा एवं अन्य परिकार खाने चलन छ । मकै पोलेर, उसिनेर र कलिलो मकै तरकारी बनाएर खाने चलन छ तर, पछिल्लो समय पशुपन्छीको दाना बनाउन मकै धेरै प्रयोग हुन थालेको छ । नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ ।

किसानले सहजरुपमा अझैसम्म गुणस्तरीय बीउ पाउन सकेका छैनन् । उनीहरुले उन्नत जातका बीउ सरलरुपमा प्राप्त गर्ने हो भने उत्पादन बढाउन सकिने विभिन्न अनुसन्धानले देखाएको छ । पछिल्लोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मकै उत्पादनलाई प्राथमिकता दिएको छ ।

यो परियोजना आर्थिक वर्ष २०७४/०७५ बाट सुरु भएको हो । नेपालमा झण्डै नौ लाख हेक्टर जमीनमा मकै खेती गरिन्छ । उच्च पहाडमा ११, मध्य पहाडमा ७१ र तराईमा १८ प्रतिशत जमिनमा मकै खेती गरिन्छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.