माओवादी केन्द्रीय सदस्यमा सहमति जुटेन : निर्वाचन तालिका संशोधन, समानुपातिकमा निर्वाचन नहुने
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य सहमतिमा चयन गर्ने प्रयास असफल भएपछि आज विहानबाट तय गरिएको निर्वाचन तालिका प्रभावित भएसंगै निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।
प्रारम्भिक कार्यतालिका अनुसार आज दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।
तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोक्नुभएको छ ।
त्यस्तै मतदानको समय भने सोमबार विहान ८ देखि १ स् २५ सम्मको समय तोकिएको छ । शनिबार पहिलो पटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले यो तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो ।
यसै गरी नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।
एक नेताका अनुसार समानुपातिकतर्फ सहमतिबाटै केन्द्रीय सदस्यहरु टुंगो लगाइनेछ र यसका लागि निर्वाचन हुने छैन । सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्य दिन भनिएको थियो । त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको ती नेताले बताए । प्रदेश २ र वागमतीमा सहमतिको प्रयास भइरहेको छ ।
समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्