जन सरोकार

हराएको छैन इमान बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गर्नुभएको हो । विराटनगरको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत यादवको गोजीबाट रकम हराएको थियो ।

भट्टले सो रकम बैंकबाट कसैले झिकेको र बाटोमा खसेको हुनसक्ने आँकलन गरेर बैंकका कर्मचारीलाई जिम्मा लगाउनुभयो । भट्ट र बैंकको अथक प्रयासपछि रकम हराउने यादव लामो समयपछि भेटिनुभएको हो । आफूले बाटोमा असोज २५ गते उक्त रकम भेटाएको भट्टले बताउनुभयो ।

ग्लोबल आइएमई बैंक तीनपैनी शाखाका व्यवस्थापक राजेश विष्टले बैंकबाट निस्किएको व्यक्तिको रकम खसेको हुनसक्ने भन्दै बैंकलाई रकम जिम्मा लगाइएपछि रकम हराउने व्यक्तिको पहिचान गर्न चुनौती भएको बताउनुभयो ।

यादवको पहिचानपछि उहाँले असोज २५ गते जम्मा गरेको रकमको भौचरमा भएको फोन नम्बरमा फोन गर्दा स्वीच अफ हुँदा भेट हुन र रकम फिर्ता दिन समस्या भएको विष्टले बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी विराटनगरका अध्यक्ष मीना जोशीले रकम भेटाएर पनि घर नलगेर बैंकमा बुझाएर भट्टले उदाहरणीय काम गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.