जापान

भूकम्पबाट १३ जनाको मृत्यु, तत्काललाई सुनामीको खतरा नरहेको जानकारी

नयाँ वर्ष मनाइरहँदा जापानमा जनवरी १ का दिन सोमबार दिउँसो इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण १३ जनाको मृत्यु भएको छ ।

यसै गरी धेरै भवनहरू ध्वस्त भएको, पर्यटकीय क्षेत्रमा व्यापक मात्रामा आगलागी भएको र सुनामीको चेतावनी जारी भएसंगै सोमबार विहानबाटै भूकम्पको क्षति आँकलन गर्दा १३ जनाको ज्यान गएको जापान टाइम्सले जनाएको छ ।

यसबीचच जापान मौसम विज्ञानन एजेन्सीले भूकम्पका कारण आउनसक्ने सुनमीको चेतावनी मंगलबार विहान हटाएको छ । सोमबार दिउँसो भूकम्प लगत्तै सुनामी आउने चेतावनी जारी गरिएको थियो ।

इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।”

जापानको तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।

भूकम्पपछि इशिकावा प्रान्तको वाजिमा शहरमा १.२ मिटरको सामुद्रिक छाल आएको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ । जापानको मौसमविज्ञान निकाय (जेएमए) का अनुसार सोही क्षेत्रको नोटोमा पाँच मिटरभन्दा बढी सुनामी आउने अनुमान गरिएको छ ।

जेएमएका अनुसार जापानको मुख्य टापु होन्शुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि अपराह्न ४ः१० मा ७.६ म्याग्निच्युड, ४ः१८ मा ६.१ म्याग्निच्युड, ४ः२३ मा ४.५ म्याग्निच्युड, ४ः२९ मिनेटमा ४.६ म्याग्निच्युड र ४ः३२ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको केही समयपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रसारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जान तत्काल आग्रह गरेका हुन् ।

सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्युडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.