मेडल ल्याउनु ठूलो कुरा होइन, खेलप्रति प्रेरित गर्नु महत्वपूर्ण हो
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खेलकुद शारीरिक र मानसिक रुपमा सशक्त बनाउने माध्यम भएकाले विद्यार्थीमा त्यस किसिमको विकास हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले अहिले ३२ सय जना विद्यार्थीहरूले भाग लिनुभएकामा आगामी दिनमा यो सङ्ख्यालाई बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले मेडल ल्याउनु ठुलो कुरा नभएको भन्नु हुँदै अरूलाई पनि प्रेरित बनाएर आफूसँगै खेल्ने बनाउनु ठुलो कुरा रहेको बताउनुभयो ।
प्रमुख साहले भन्नुभयो, ‘‘आजबाट सुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरूले भाग लिनुभएको छ । आगामी दिनमा बढाएर बिस्तारै पाँच हजार १० हजारले भाग लिनुहोस् । मेडल ल्याउनु ठुलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठुलो कुरा हो । भोलिका दिनमा वर्ल्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईँहरूले आफूसँगै अरूलाई प्रेरित गर्नुस् ।’’
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले राष्ट्रिनिर्माण र विकासमा खेलाडीको भूमिका प्रभावकारी र सक्षम हुनपर्ने भएकाले स्थानीय, प्रदेश र सङ्घस्तरीय नै विभिन्न खेल प्रतियोगिताको आवश्यकता रहेको बताउनुभयो ।
खेलाडीको उत्पादनमा विकास होस् भन्ने आशाले महानगरपलिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको र मेडलका लागि मात्र खेल्नुपर्छ भन्ने दवाव दिन नहुने उहाँले बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबडी, तेक्वान्दो, एथलेटिक्स, कराते र उसु गरी छ विधामा प्रतिस्पर्धा हुने उपप्रमुख डङ्गोलले जानकारी दिनुभयो । प्रतियोगितामा ८३ विद्यालयका तीन हजार दुई सय ५० विद्यार्थीले भाग लिनेछन् ।
प्रतिक्रिया राख्नुहोस्