बिचार

समृद्धिका लागि शास्त्र र आधुनिक विज्ञानको मिश्रण

वैदिककालदेखि अस्तित्वमा रहेको, मानव सभ्यताको विकासक्रमसंगै उच्चतम् मानवीय गुणवत्ता प्रदर्शन गर्दै ज्ञान–विज्ञानको स्रोतका रुपमा वेद–पुराणहरुमा वर्णिन नेपालको वर्तमान अवस्था न शास्त्रसम्मत छ, न त आधुनिक स्वरुपमा नै ।

शासनकवर्गहरु आफ्नो अनुकुल हेरेर शास्त्र र आधुनिक विज्ञानको अर्थ लगाउँदै गुणगान जति गाउँछन्– विकासमा यी दुबै पक्षलाई ओझेलमा पारेर व्यक्तिवादी प्रवृत्ति प्रदर्शन गरिरहेका छन् ।

विकासको मानक मानव समाजको हित र त्यस्तो हित प्रकृति संरक्षणबाट मात्र सम्भव छ भन्ने दृष्टान्त विश्वलाई दिनुपर्ने नेपाल आज प्रकृतिक विनाशको मारमा परिरहेको छ । यसका लागि नेपाली स्वयं जति जिम्मेवार छन्, त्योभन्दा बढी बाहिरी मुलुक रहे पनि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्नैसकेका छैनौं, आफ्नो परम्परा, अभ्यासलाई पछ्याउन चाहेकै छैनौं । न आधुनिक बन्न सकियो, न शास्त्रीय अभ्यासलाई नै निरन्तरता दिन सकियो ।

आज विश्व जलवायु परिवर्तनको मारमा छ र नेपाल सर्वाधिक प्रभावित मुलुममा परेको छ । नेपालको हिमालदेखि तराईसम्म यसको गम्भीर असर देखिइसकेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीमा रहेको खुम्बु क्षेत्रका महिलाहरुको प्रजनन् स्वास्थ्य जलवायु परिवर्तनकै कारण विग्रन थालेको समाचार केही दिन पहिले मात्र सार्वजनिक भयो । त्यहाँको रैथाने अन्नबाली पनि नाश हुने क्रममा छ ।

जैविक विविधताको विनाश त हिसाबहिताब नै छैन । यस्तो अवस्थाको प्रमुख कारक विश्वका धनी र सम्पन्न मुलुकहरु हुन् । तर, ती मुलुकहरु यसबाट भाग्ने प्रयासमै छन् । आफ्ना कारणले अरु मुलुकलाई परेको असरका बारेमा उनीहरु गम्भीर छैनन् । हालै अजरबैजानको बाकुमा सम्पन्न कोप–२९ मा पनि यही कुरा देखियो ।

विकसित र धनी राष्ट्रहरु जलवायु परिवर्तनको विश्वव्यापी असरप्रति किन चासो दिंदैनन् भन्ने कारण हेर्न ती देशले जलवायु अनुकूलनका लागि गरेको व्यवस्था र विकास निर्माणका काममा राखेको उत्त शतर्कतालाई हेर्न सकिन्छ । अत्याधुनिक समाज निर्माण गरिसकेका ती मुलुकहरुले आफ्नो समाजलाई चाहिने परम्परागत सबै पक्षहरुलाई सुरक्षित राखेका छन्, यसकारण ती मुलुकहरु जलवायु परिवर्तनको असरप्रति उतिधेरै चासो दिंदैनन् ।

तर, एउटा मुलुकमा परेको असरको धक्का उनीहरुले पनि भोगिरहेकै छन् । पश्चिमा मुलुकहरु किन जलवायु परिवर्तनको मुद्दामा उतिसारो चासो राख्दैनन् भन्ने बुझ्न संयुक्त राज्य अमेरिकालाई हेर्दा पुग्छ । गत वर्षको चैत्रमा अमेरिकाको न्यूयोर्क राज्य भ्रमणमा जे देखियो, त्यसबाट स्पष्ट भयो कि उनीहरु आफ्नो मुलुकको वातावरण सन्तुलनमा अति सचेत छन् र त्यसलाई व्यवहारमै उतारेका छन् ।

साथै विकास भनेको के हो भन्ने पनि देखाइदिएका छन् । नेपालमा विकास भनेको ठूला महल खडा गर्नुलाई मानिन्छ । हरियो डाँडा मासेर जग्गा प्लष्टिङ गर्नुलाई विकास मानिन्छ । तर, न्यूयोर्क अर्थात् अमेरिका हरियाली मास्नेलाई कडा दण्ड दिन्छ । भीमकाय महलहरुको व्यापारिक क्षेत्रकै वरिपरी घना जंगल र पोखरीका पार्कहरु त्यहाँ स्थापित गरिएका छन् ।

विश्व अर्थतन्त्रलाई नै चलायमान बनाउने न्यूयोर्क संयुक्त राज्य अमेरिकाको आर्थिक राजधानी पनि हो । विकास, समृद्धि, खुलापन र आर्थिक उपार्जनका हिसाबले संसारभरका मानिसका लागि आकर्षक यहाँको विकास, वैभवसंगै मानव मात्रका लागि आवश्यक पूर्वाधारहरुको निर्माणले विकासको परिभाषालाई राम्ररी उजागर गरेको छ ।

भौतिक सुविधाले चरम चुलीमा पुगेको न्यूयोर्कले प्राकृतिक सुविधालाई पनि उत्तिकै प्राथमिकता दिएको छ । यसको उदाहरणका रुपमा शहरका विभिन्न भागमा बनेका विशाल पार्कहरुलाई लिन सकिन्छ । शहरी सभ्यता र विकास भनेको ठूलाठूला महल र सडक मात्र होइन भन्ने यहाँ प्रमाणित गरिएको छ ।

मानव विकासको इतिहासंगै उसलाई खुला वातावरण चाहिन्छ, हरियाली चाहिन्छ भन्ने मान्यतालाई न्यूयोर्कमा राम्रोसंग अभ्यास गरिएको छ । अहिले विश्वमा सर्वाधिक कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेरिका परे पनि सो मुलुकमा सदियौंअघिदेखि स्थापित गरेका पार्कहरुको महत्व अहिले अरु बढेको छ ।

निःशुल्क प्रवेश रहेका पार्कहरुमा फुटबल मैदानदेखि एथलेटिक्स ट्रयाकसम्म बनाइएका छन्– शहरी कोलाहललाई चटक्कै बिर्सने गरी । पार्कहरुमा पुग्दा अमेरिका नै हो र भन्ने भान हुन्छ भने पार्कबाट बाहिर निस्केर बजार क्षेत्र पुग्दा अर्कै दुनियाँ पुगेजस्तो हुन्छ ।

खुलापन अर्थात् स्वतन्त्रताको चरम अभ्यासदेखि प्रकृतिसंगको निकटतासम्मको विशेषताले भरिएको न्यूयोर्कको विकासको शैली नेपालको परम्परागत मौलिक अभ्याससंग मेल खाएको देखिन्छ । विकासलाई भौतिकतासंग मात्र नहेरेर प्राकृतिक पक्षबाट पनि मानिसलाई खुसी दिनुपर्छ भन्ने मान्यता यहाँ रहेको पाइन्छ ।

पार्कहरुमा भौतिक संरचना कम, खुला ठाउँ बढी छाडिएका छन् । विभिन्न प्रजातिका फूल र रुखले हरियालीसंगै शितलता प्रदान गर्नुका साथै खुला चौर र त्यहाँ निर्मित अनेक किसिमका खेल संरचनाले केही मिनेट अघिको शहरी भीडभाडलाई पूरै बिर्साउँछ ।

तर, नदी, वनजंगल मास्नु हुँदैन, यिनमा देवताको बास हुन्छ भन्दै पूजा गर्ने नेपालीहरु धार्मिक रुपमा अत्यधिक महत्व दिइएका, शास्त्रमा वर्णित, मन्दिरको किनारबाट बग्ने पवित्र नदीहरुमा ढल मिसाएर दूषित बनाउँदै प्राणविहीन बनाउने नेपालीका लागि न्यूयोर्कका नदीहरुका स्वच्छताले निकै आकर्षित गर्दछ ।

न्यूयोर्कको विशेषता हरियालीको प्रबद्र्धन मुख्य रहेको छ । शहरलाई सुन्दर बनाउन र आफ्ना नागरिकलाई सहज सुविधा दिलाउन बनेका पार्कहरुको शहरमा खुला स्थान कति आवश्यक छ भन्ने देखाउँछ ।

विगतमा नेपालका शहरका चोक–चोकमा खाली स्थान हुन्थे, ती स्थानमा मानिसहरु जम्मा भएर गफगाफ गर्ने मात्र होइन कुनै विपत्ति आइपर्दा सुरक्षित रहन पनि ती स्थान चाहिन्छन् ।

आजभोलि काठमाडौंका खाली स्थान सबै अतिक्रमणमा परेका छन् । हरियाली बढाउने डाँडाहरुमा डोजर कुदेका छन् । प्राकृतिक मात्रचित्रको विशेष महत्व राख्ने नेपालमा प्रकृतिले दिएका संरचना नै संरक्षण गर्न नसकेको देख्दा र न्यूयोर्कमा पार्कहरुको बन्दोबस्त हेर्दा इर्ष्या लाग्छ ।

अनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुरु गरेको शहरी सभ्यताको नयाँ आयाम कति आवश्यक रहेछ भन्ने पनि बुझ्न सजिलो हुन्छ ।

नेपालमा विकासको परिभाषा नै गलत छ भन्ने न्यूयोर्कले देखाउँछ । विकासको अर्थ जनता स्वस्थ र खुसी भएर श्रम गर्नसक्नु हो, वातावरण शुद्ध हुनु पनि हो । मानिस खुसी हुन, हरियाली कायम हुनुपर्दछ, नदीहरु स्वच्छ हुुनुपर्दछ भन्ने पूर्वीय मान्यता अनुसार नै न्यूयोर्क चलेको विश्लेषण पंक्तिकारको रह्यो ।

विकास भनेको सिमेन्ट र फलामका संरचना ठड्याएर मात्र विकास हुँदैन, जनतालाई आधारभूत कुराको सहज उपलब्धता, राज्यप्रति जनताको भरोसा र नियमम, कानुन पालनामा कडाई पनि विकास हो । सुलभ शिक्षा, स्वास्थ्य र यातायात अनि गरिखानेका लागि अवसर सिर्जनाबाट मात्रै विकास हुन्छ । जुन विकासको ढाँचा नेपालमा पहिला थियो ।

नेपालमा अहिले विकासको परिभाषा नै बदलिएको छ । विस्तारै वातावरणप्रति चेतना जागृत भए पनि राजनीतिक स्वार्थका कारण जनताको जीवनमाथि नै खेलवाड गर्दै अतिक्रमण र विनाशलाई प्रश्रय दिने काम भैरहेको छ ।

काठमाडौं महानगरले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हटाउने, नदी किनार खाली गर्ने, अवैध संरचना भत्काउने, खुला स्थानमा पार्क निर्माण गर्ने, सडकपेटीमा व्यापार रोक्ने जस्ता कार्यहरु पश्चिमा विकासको शैली भए पनि नेपालमा यसको अभ्यास विगतमा थियो र त्यसैको पुनरावृत्तिमा बालेन लागेका देखिन्छन् ।

पश्चिमा मुलुकका शहरहरु भ्रमण गरेपछि काठमाडौंमा मेयरले चालेको अभियान कति शास्त्रसम्मत, आधुनिक र अत्यावश्यक रहेछ भन्ने स्पष्ट हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.