राजनीति

मन्त्री दाहालद्वारा मुग्लिन–पोखरा पश्चिम खण्डको अनुगमन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डको बुधबार निरीक्षण गर्दै प्रगतिबारे जानकारी लिनुभएको छ ।

मन्त्री दाहालद्वारा मुग्लिन–पोखरा पश्चिम खण्डको अनुगमन

मन्त्री दाहालले पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म भइरहेको कामको बुधबार स्थलगत अनुगमन गर्दै प्रगतिबारे जानकारी लिनुभएको हो ।

त्यसक्रममा मन्त्री दाहालले पछिल्लो समय उक्त खण्डमा भएको प्रगति सन्तोषजनक रहेको बताउनुभयो । पछिल्लो पटक थप भएको म्यादभित्रै काम सम्पन्न गर्न उहाँले आयोजनाका सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो ।

त्यस क्रममा आयोजनाका इन्जिनियर सौजन्य नेपालले मन्त्री दाहाल समक्ष उक्त खण्डको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । अठतीस दशमलव पाँच किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म २४.५ किलोमिटर एकतर्फी कालोपत्र सकिएको उहाँले जानकारी दिनुभयो ।

उक्त खण्डमा म्याद आगामी २०८२ पुस १६ गतेसम्मका लागि थप भएको छ । पश्चिम खण्डमा २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यस अवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलो पटक एक सय एक दिनका लागि म्याद थप भएको थियो ।

हालसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँचवटा पुल सम्पन्न भएका छन् ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.