अर्थ

दुई वर्षमा सकिनुपर्ने १८ किलोमिटर सडक सातपटक म्याद थप्दा पनि बनेन

नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा राजनीतिक शक्तिको आडमा ठेकेदारहरुले गर्ने बदमासी यति चर्को छ कि यसले मुलुकको अर्थ र समय दुबै खेर गैरहेको छ ।

काठमाडौं उपत्यकादेखि दुर्गम ग्रामीण क्षेत्रका सडक तथा पुलहरुको अवस्था यस्तै छ । ठेकेदारको लापरवाहीका कारण २०७५ सालमै सकिनुपर्ने रुकुमपश्चिमको एउटा सडक खण्डको म्याद सात पटक थप गरिंदा पनि सम्पन्न भएको छैन ।

जिल्लाको मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्ड निर्माण सम्पन्न गर्न सातौँ पटक म्याद थप भए पनि ठेकेदार सम्पर्कविहीन भएका छन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पीएचरएसएमएनएस जेभीले जिम्मा लिएको थियो ।

२०७४ सालमा निर्माण सुरु गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीका कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन एकाइ रुकुमपश्चिमका व्यवस्थापक टङ्कप्रसाद खनालले जानकारी दिनुभयो।

२०७४ सालमा १८ किलोमिटर लामो सडकखण्ड दुई वर्षमा निर्माण सम्पन्न गर्नका लागि सुरुमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। समयमै काम सम्पन्न हुन नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले आगामी जेठ ११ गतेसम्म अन्तिम म्याद राखेर सातौँ पटक म्याद थप गरेको आयोजना प्रमुख खनालले जानकारी दिनुभयो।

निर्माण कम्पनीका प्रमुख हेमराज गुभाजुसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको उहाँले बताउनुभयो। ठेकेदारलाई सम्पर्कमा आउन र समयमै काम सम्पन्न गर्न आयोजना कार्यालयले सार्वजनिक रूपमै सूचना प्रकाशन गरेको समेत जनाइएको छ।

आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले भ्याटसहित ८९ करोड ८० लाख रुपियाँको लागतमा शीतलपोखरी–झुल्खेत–चुन्वाङ र बालुवा–नयगाड जामाबगर–त्रिवेणी सडकखण्ड निर्माणका लागि सम्झौता गरेको थियो।

हालसम्म सम्झौताको ६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत वित्तीय प्रगति भएको आयोजना व्यवस्थापक खनालले उल्लेख गर्नुभयो। शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको १८ किलोमिटर सडकमध्ये १५.५ किलोमिटर भूभागमा ट्र्याक खोलेर गाडीसमेत सञ्चालन हुने गरेका छन्।

जङ्गल र भीरको भूभागमा ट्र्याक खोल्न बाँकी रहेको छ। ठेकेदार कम्पनीले हालसम्म उक्त सडकखण्डको ६ किलोमिटरसम्म बेस कालोपत्रे र १३ किलोमिटर सडकको बेस र नाली निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि काम नै सुरु भएको छैन।

आयोजना पूर्णरुपमा सम्पन्न नभए पनि बाटोको ट्र्याक मात्र खोलेर गाडी चल्दा समेत स्थानीयवासी हर्षित भएका छन् । गाउँको उत्पादन बजारीकरण, बजारमा आउजाउ, खाद्यान्न ढुवानीलगायतका काममा सडक बनेपछि सहज भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.