राजा प्रताप मल्ल (वि.सं. १६९८–१७३१) को अवधिमा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा हालको सिंहदरबार वैद्यखाना स्थापना भएको थियो ।
चारसय वर्षभन्दा लामो इतिहास बोकेको सिंहदरबार वैद्यखाना अहिले समस्यामा छ । विश्वभर आयुर्वेदिक औषधिको माग बढिरहेका बेला जडिबुटीको भण्डार रहेको नेपालमा ऐतिहासिक वैद्यखाना भने सरकारी वेवास्ताकाकारणा समस्यामा परिरहेको छ ।
आयुर्वेदिक औषधि उत्पादन गर्ने देशकै सबैभन्दा ठूलो सरकारी निकाय सिंहदरबार वैद्यखाना विकास समितिमा गठन आदेशले तोकेबमोजिम कार्यालय प्रमुखको नियुक्ति नहुँदा लामो समयदेखि समस्या हुँदै आएको हो ।
गठन आदेशमा आयुर्वेद समूहका ११औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशकका रुपमा नियुक्त गर्ने व्यवस्था छ । उक्त समितिको सञ्चालक समिति अध्यक्ष डा बाबुराजा अमात्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन आदेशबमोजिम कार्यालय प्रमुख नपठाउँदा कर्मचारीले विश्वास नगरेर समस्या आएको बताउनुहुन्छ ।
“दुई वर्षको बीचमा मन्त्रालयले तीन दसौँ तहका कार्यालय प्रमुख पठाउँदा समस्या भएको छ, दसौँ तहको कार्यालय प्रमुख पठाउँदा निमित्त दिने हो, निमित्त कार्यालय प्रमुख पठाउने भए कार्यालयकै वरिष्ठ कर्मचारीलाई दिनुपर्छ भन्ने माग धेरै कर्मचारीको छ”, उहाँको भनाइ छ।
दसौँ तहका दुई कार्यालय प्रमुख पठाउँदा बारम्बार विवाद भएपछि मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायलाई समितिको कार्यालय प्रमुखका रुपमा पनि काम गर्ने जिम्मेवारी दिएको थियो ।
विभागका महानिर्देशकलाई नै समितिको कार्यालय प्रमुखको जिम्मेवारी दिँदा औषधिको बिक्री वितरणमा पनि सहज हुने आशा गरिएको थियो ।
तर, उहाँलाई दुई हप्तामै हटाएर फेरि दसौँ तहका डा रामदेव यादवलाई कार्यकारी प्रमुख बनाएपछि कर्मचारीले कार्यालय प्रमुखलाई मानेकै छैनन् । अधिकांश कर्मचारी विधि विपरीतको नियुक्तिलाई नमान्ने बताउँछन् ।
दसौँ तहका डा सबरी साह पनि समितिमै रहेको जनाइएको छ । साह पनि यसअघि निमित्त कार्यालय प्रमुखका रुपमा नियुक्त हुनुभएको थियो । साह धेरै विषयमा विवादमा तानिएपछि सरकारले डा श्यामबाबु यादवलाई निमित्त कार्यालय प्रमुख नियुक्त गरेको थियो ।
साहलाई समायोजन भनी समितिमा पठाएपछि कर्मचारीले विरोध गरेका थिए । कार्यालय प्रमुखको विषयमा विवाद हुँदा जाडोयाममा पनि समितिले च्यवनप्रास, शिलाजितजस्ता औषधि बजारमा धेरै माग भइरहे पनि बनाउन सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्