राजनीति

“काण्डैकाण्डबाट बच्न गठबन्धनले खोज्यो एमालेको साथ”

पछिल्लो समय सरकार र सरकारमा सामेल गठबन्धनका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेसंग नजिकिंदै राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सिट दिन छलफलमा छन् ।

विगतमा एमालेलाई जसरी पनि निषेध गर्ने रणनीति अपनाएको सरकार र सत्ता गठबन्धनका दलहरु अहिले त्यही एमालेलाई फकाउँदै उसको साथ खोजिरहेका छन् ।

हुन त कांग्रेस र माओवादीले एमालेलाई राष्ट्रियसभामा सिट दिने प्रस्ताव राख्दा माधवकुमार नेपालको सहमति रहेको छैन । तर, यसले कुनै असर पार्ने देखिंदैन ।

अहिले सरकार काण्डैकाण्डले घेरिएको छ भने सत्ता गठबन्धनका दलहरु पनि अनेक काण्डमा मुछिएका छन् । यस्तोमा एमालेको साथ लिएर काण्ड सामसुम पार्ने र सरकारलाई गति दिने रणनीति बनेको हो ।

कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन धरापमा परेको भन्नेहरु नै अहिले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट दिएर मिल्ने तयारीमा रहेका छन् ।

सत्ता गठबन्धनका नेताहरु एमालेतिर झुकाव राख्न थालेपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको टिप्पणी गर्नुभएको छ ।

कांग्रेस नेता कोइरालाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?”

२० फागुनमा कार्यकाल सकिन लागेका २० सदस्यहरुमध्ये राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् । कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यही पुस २३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

राष्ट्रिय सभामा नेकपा एमालेले पनि भाग खोजेपछि सत्ता गठबन्धनभित्र कति सिट दिने भन्ने छलफल जारी छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शून्य नबनाउन भनेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.