राजनीति

उपलब्धि रक्षाका लागि सबै एकजुट हुने बेला आयो : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्राप्त उपलब्धि जोगाउन सबै एकजुट हुनुपर्ने बेला आएको बताउँदै सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल(जसपा)द्वारा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको जिकिर गर्नुभयो ।

उहाँले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्नै सकेन भने वा कुनै प्रधानमन्त्रीलाई चयन गरेपछि विश्वासको मत लिन सकेन भने मात्रै विघटनको अधिकार स्वभावतः रहने तर कसैको इच्छाका भरमा विघटन गर्न नपाइने बताउनुभयो । अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न खडा भएको जनाउँदै विगतमा झैँ अहिले पनि उपलब्धि रक्षाका लागि सबै एकजुट हुने बेला आएकामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय सरकारले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र गरेको जिकिर गर्दै सोे निर्णयले नेपाली जनतामाथि धोका भएको विचार व्यक्त गरी यसको सबैले विरोध गर्नुपर्छ भन्नुभयो ।

उहाँले आशाको केन्द्र सर्वाेच्च अदालत रहेको जनाउँदै प्रधानमन्त्रीको कदम सच्चिने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधिसभा पुनःस्थापित हुनुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउनुहुन्न भनेर आफूले पार्टी केन्द्रीय समितिमा प्रस्ताव लगेको र सो विषयमा पार्टीभित्र एक मत रहेको नेता पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्रीले जथाभावी प्रयोग गर्न नसक्ने गरी संविधान बनाइएको जनाउँदै उहाँले संविधानमा नै प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसक्ने व्यवस्था गरेर स्थायित्वसमेत प्रदान गरिएको भनाइ राख्नुभयो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनले नेपालको संविधान र संविधानवादमा नै क्षति पुगेको जनाउँदै त्यसलाई सर्वाेच्च अदालतले मलमपट्टी लगाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार संविधानले नदिएको जिकिर गर्दै अध्यक्ष यादवले सबै राजनीतिक दल एक भएर विघटनको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई संसद्को विशेषधिकार प्रयोग गर्न पनि सुझाव दिनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टीको आन्तरिक समस्याका कारण लोकतन्त्रलाई दाउमा राख्न नहुने बताउनुभयो । कार्यक्रममा जसपाकी नेत्री हिसिला यमी, प्रा कृष्ण खनाल, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, साहित्यकार युग पाठक, पूर्वन्यायाधीश गिरीशचन्द्र लाललगायतले प्रतिनिधिसभा विघटनको विरोध गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.