जन सरोकार

‘मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न आवश्यक’

मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइएको छ । रक्षा नेपालले आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिकको व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय छलफल’का वक्ताले मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न स्वयं व्यक्ति नै चनाखो बन्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले मनोरञ्जनात्मक क्षेत्रमा १४ वर्षदेखि ४५ वर्ष उमेर समूहका महिला बढी रहेको उल्लेख गर्दै उनीहरुमाथि हुने हिंशा न्यूनीकरण गर्न महिला आयोगले काम गर्दै आएको बताउनुभयो ।

“महिलामाथि हिंशा हुन नदिन व्यक्ति र घरबाटै अभियान सुरु गर्नुपर्छ,”–उहाँले भन्नुभयो । मनोरञ्जनात्मक क्षेत्रमा लाग्ने महिला तथा बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर आयोगलाई दिन स्थानीय सरकारलाई खतिवडाले आग्रह गर्नुभयो ।

नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरी सुक्ष्म निगरानी राख्दै आएको बताउनुभयो । उहाँले हिंसामा परेका महिलालाई तत्काल ११७७ नम्बरमा फोन गर्नसमेत आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालले अनौपचारिक क्षेत्रमा ८० प्रतिशतभन्दा बढी व्यवसायी दर्ता नगरी सञ्चालन गरेको पाइएको भन्दै यसलाई निगरानी गरेर यसमा कार्यरत श्रमिकलाई राम्रो सेवा प्रदान गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले हप्ताको ४२ घण्टाभन्दा बढी समय श्रमिकलाई काम लगाउन नपाइने उल्लेख गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत यशोदा बन्जाडेले मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकको स्थिती भयावह रहेको उहाँको भनाई थियो ।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत महिलालाई त्यस क्षेत्रमा काम गर्न अफ्ठ्यारो परेका महिलालाई तालिम उपलब्ध गराउने, सेल्टरको व्यवस्था गर्ने, बच्चालाई निशुल्क पढाउनेलगायतका कार्य गर्ने बताउनुभयो । उहाँले बलात्कारमा परेका महिलालाई आजिवन सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

विसं २०६० मा स्थापना भएको रक्षा नेपालले यौनजन्य हिंसा, बलात्कार तथा बाध्यात्मक देहव्यापारका विरुद्ध काम गर्नुका साथै यौनजन्य हिंसा र बालात्कारको शिकार भएर मानसिक तथा शारीरिक रुपमा टुक्रिएका बालिकाको संरक्षण गर्दै आएको रक्षा नेपालकी कार्यक्रम संयोजक रसना ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.