सर्वोच्चबाट के आदेश होला उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ सर्वोच्च अदालतमा भैरहेको छ । अदालतको संवैधानिक इजलासमा यतिबेला बहस भैरहेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भैरहेको छ ।
संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने निर्णय गरेको थियो ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछानेको सांसद पदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजीको माग रिट निवेदनमा छ ।
बहसमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्ण लगायतले अमेरिकाबाट फर्किने क्रममा गैरपर्यटक भिसामा आएको र त्यसपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले पनि उनी नेपाली नागरिक नभएको दावी गर्नुभएको छ ।
उता सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने तर्क गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्