जन सरोकार

अस्पतालमा बन्धकझैं बसेका दुर्गाप्रसाद छुट पाएपछि घर फर्किए

बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका इलाम माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना लामो समयसम्म अस्पतालमै बन्धक बन्नु पर्यो ।

दुर्गाप्रसाद अस्पतालमै

गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझं भएर अस्पतालमै बस्नु परेको थियो ।

परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ । दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहनुभएको अस्पतालले जनाएको छ । उहाँ निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब रु चार लाख १५ हजार नहुँदा घर जान पाइएको थिएन ।

विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उहाँले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा गिरिराज भन्टानाले बताउनुभयो । उहाँले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो ।

“दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो”, डा भन्टानाले भन्नुभयो, “शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।” उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताउनुभयो ।

“छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो”, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भन्नुभयो, “अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ ।”

दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न सङ्घ–संस्थाको पहलमा उहाँलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उहाँको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन रु ५० हजार प्रदान गरेको थियो ।

उपचारपछि घर आउनुभएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बन्नुभएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.