राजनीति

रास्वपाले सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

रास्वपा

दुई दिनको केन्द्रीय समिति बैठकपछि आइतबार जारी विज्ञप्तिमा उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला-निर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्ने निर्णय पनि रास्वपाले गरेको छ । अभियान आगामी माघ २ गतेदेखि सुरु भई दुई महिनासम्म सञ्चालन हुनेछ ।

बैठकले पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यको सुझावसहित पारित गरेको छ । राजनीतिक प्रशिक्षण केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । संविधानमा आवश्यक परिमार्जनका लागि प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव सङ्कलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलका तर्फबाट धारणा सार्वजनिक गर्नेछ ।

कार्यदलमा केन्द्रीय सदस्यहरु क्रान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहनुभएको छ । कार्यदलले प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकेको छ ।

बैठकले पुस १८ गते दिवङ्गत हुनुभएकी नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक विषयमा जानकारी गराउनुभएको थियो । उहाँले पार्टीका संस्थापक सभापति रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रियासम्बन्धी पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षामा पार्टीका प्रदेश महामन्त्री, केन्द्रीय सङ्गठन विभाग तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्यको सहभागितामा उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौती समेटिएका समीक्षा प्रतिवेदन पनि पारित गरेको छ । विसं २०८० मङ्सिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्तावेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्न पारित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन एकाइ गठन गर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो । विभिन्न सन्दर्भ र प्रयोजनका लागि बनाइएका चार समिति तथा कार्यदलको प्रयोजन पूरा भएकाले विघटन गरिएको पनि रास्वपाले जनाएको छ । पार्टीले सङ्घीय सदनबाहिर रहेका राजनीतिक दल÷शक्तिका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्नेगरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

विभिन्न विषयमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्÷ थिङ्कट्याङ्क सदस्यहरु मनोनीत गर्दै जाने निर्णय पनि गरिएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.