अमेरिकी सैन्य अखडामा इरानको आक्रमण- अमेरिकाका सहयोगीमाथि पनि आक्रमणको चेतावनी
गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा आक्रमण गरेको छ । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।
अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ । पेन्टागनका अनुसार, मिसाइल आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी छ ।
इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।
उसले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको छ । इराकस्थित सैन्य क्याम्पहरुलाई स्थानीयले आवासलगायतका पूर्वाधारमा सहयोग गर्दै आएका छन् ।
इरानले आक्रमण गरेपछि हृवाइट हाउसले विज्ञप्ति जारी गर्दै इराकमा रहेका अमेरिकी सेनामाथि भएको आक्रमणको रिपोर्टले आफूहरु शर्तक रहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराएर राष्ट्रिय सुरक्षा समूहसँग परामर्श गरिरहेको बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्