जनकपुरको जानकी मन्दिर पर्यटकले भरिभराउ (भिडियो)
विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ छ । पुस महिनायता मन्दिरमा पर्यटकको संख्यामा बृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउनुहुन्छ ।
उहाँले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुको भीडभाड हुने गरेको बताउनुभयो । मन्दिरमा दैनिक सयौंको संख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटकहरु आउने गरेको पुजारी दासले जानकारी दिनुभयो ।
अहिले पर्यटहरुको भीड जानकी मन्दिरपछि राममन्दिर, लक्ष्मणमन्दिर, विवाहमण्डपका साथै धनुषाको धनुषाधाम रहेको धनुषामन्दिरमा देखिन्छ ।
पर्यटकहरु नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, मध्य प्रदेश, उत्तराखण्डलगायत राज्यबाट पर्यटकहरु जनकपुरधाम आउने गरेका छन् ।
आइतबार बिहान जानकी मन्दिरमा काठमाडौं ईन्द्र चोक बस्ने विजयमान श्रेष्ठ पहिलो पटक जनकपुरधामस्थित जानकी मन्दिर धुम्न आएको बताउँछन् ।
विवाहपञ्चमी महोत्सवबारे संचारमाध्यममा हेरेपछि जानकी मन्दिर घुम्न आएको छु, उनले भने, श्रीमति छोरा, छोरी गरी परिवारका १२ जना सदस्यसहितजनकपुरधाम घुम्न आएकोछु । जानकी मन्दिरमा पुजा अर्चना गरी काठमाडौं फर्किन्छु योजना छ, उनले भने ।
यस्तै भारतको मध्य प्रदेशको अशोकनगर जिल्लाबाट गाउँको ६० जनाको समूहका जानकी मन्दिर घुम्न आएको दर्शनार्थी मनोज शर्मा बताउँछन् । उनी काठमाडौंको पशुपतिनाथको दर्शनपछि जानकी मन्दिर दर्शन गर्न आएको बताए ।
जानकी मन्दिरको दर्शन गरेपछि धन्य भएको शर्मा बताउँछन् । उनले माता सीताको जन्मभूमि तथा भगवान् रामको ससुराली दर्शन गर्नाले पुण्य प्राप्तहुने भएकाले आफु यहाँ घुम्न आएको बताए ।
यहाँबाट गएपछि गाउँका अन्य मानिसहरुलाई पनि जानकी मन्दिर घुम्न आउन सुझाव दिन्छु, शर्माले भने, जनकपुरधाममा दुई दिन बसेर यहाँका अन्य धार्मिक स्थलहरुमा घुमघाम गर्दै पुजा अर्चना गर्ने कार्यक्रम छ ।
भारतको १२ वटै ज्योतिर्लिङ्ग(सोमनाथ, मल्किार्जु स्वामी, महाकालेश्वर, ऊँकारेश्वर, केदारनाथ, भीमाशंकर, काशी विश्वनाथ, त्रयम्बकेश्वर, वैधनाथ, नागेश्वर, रामेश्वरम र घृष्णेश्वर मन्दिर) को पैदल यात्रा गरेका विजय दास पनि यतिबेला जनकपुरधाम आइपुगेका छन् ।
भारत सिवान जिल्ला गोठनी प्रखण्डका दास अयोध्याबाट जनकपुरधाम पनि पैदल यात्रा गरेरै आएका छन् । उनी यहाँबाट काठमाडौंको पशुपतिनाथको दर्शन गर्न पनि पैदल नै जाने बताए ।
उनका अनुसार १२ वटा ज्योतिर्लिङ्ग एक रहेको केदारनाथमा रहेको शिव लिंगको आधा भाग पशुपतिनाथमा रहेको केदारनाथका साधुसन्तहरुको भनाई छ । उनीहरुले यस्तो भनेपछि पशुपतिनाथको दर्शन गर्न पैदल यात्रामै यहाँ आइपुगेको छु, दास भन्छन्, पशुपतिको दर्शन गरेपछि आफ्नो यो यात्रा अन्त्य हुन्छ ।
दास १७ महिनादेखि निरन्तर पैदल यात्रामा छन् । गोमुखबाट गंगा जल भरेर १२ वटै ज्योतिर्लिङ्गमा अर्पण गर्ने अठोट लिएर उनी पैदल यात्रामा रहेको बताउँछन् । सोही क्रममा जानकी मन्दिरको दर्शन गर्दै काठमाडौं हिड्ने योजना रहेको दासको भनाइ छ ।
अहिले जनकपुरधाममा भारतीय र नेपाली पर्यटकहरुको आउजाउ बढेको होटेल व्यवसायी अभिषेक भुनझुनवाला बताउँछन् । उनका अनुसार दैनिक करिब ८ सयको संख्यामा जनकपुरधाम आउने गरेका छन् । तर पछिल्लो वर्षको तुलनामा २० प्रतिशतले पर्यटकको संख्यामा कमी आएको उनले बताए ।
जनकपुरधामको मुख्य भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौं लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौंलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ ।
प्रतिक्रिया राख्नुहोस्