जन सरोकार

‘मंगलबार बिहानै त्रसित बनाएको भूकम्पको धक्का’

सङ्खुवासभाका शिव चापागाईं बिहानै भैँसीलाई खोले दिएर दूध दुहुने तरखरमा हुनुहुन्थ्यो । एक्कासि बाल्टी हल्लियो । हातखुट्टा लगगल कामे । “के भयो भनेर आत्तिएर भैँसीको थलाबाट निस्कदा गाउँतिर भूकम्प आयो भनेर गाउँभर कोलाहल मच्चिसकेको रहेछ”, उहाँले रासससँग भन्नुभयो ।

सङ्खुवासभा सभापोखरी गाउँपालिका–१ धुँपुका चापागाईं जस्तै धेरैलाई बिहानै भूकम्पको धक्काले त्रसित बनायो । सङ्खुवासभा सभापोखरी गाउँपालिका–१ धुँपुका चापागाईं जस्तै धेरैलाई बिहानै भूकम्पको धक्काले त्रसित बनायो ।

भोजपुर षडानन्द नगरपालिका–१४ का कुमार अधिकारी बिहान सबेरै उठेर घरको काममा व्यस्त हुनुहुन्थ्यो । भुइँ हल्लियो । घरका दलिन मच्चिए । बाहिर निस्कदा भूकम्प गयो भनेर होहल्ला भइरहेको रहेछ । “घरभित्रै थिए । एक्कासि शरीर नै हल्लिएजस्तो भयो । घरको दलिन हल्लिएको देखेर के भयो भन्दै आत्तिदै बाहिर निस्के भूकम्पको हल्ला भइसकेको रहेछ”, उहाँले भन्नुभयो ।

भूकम्पको धक्काले काठमाडौँ उपत्यकाका नागरिकमा पनि ठूलो त्रास पैदा गरायो । भक्तपुरको मध्यपुर ठिमी–३ स्थित लोकन्थली निवासी रेनुका कार्की पनि बिहानको नियमित काममा व्यस्त हुनुहुन्थ्यो । एक्कासि भूकम्पको झड्का महसुस भएपछि आत्तिएर बाहिर निस्कनुभयो । त्यतिञ्जेल घर बाहिरको खाली जग्गामा मानिसको जमघट भइसकेको थियो । लोकन्थलीकै कृष्ण श्रेष्ठ पनि हत्तारहत्तार परिवार लिएर बाहिर निस्किएको स्मरण गर्नुभयो ।

बूढानीलकण्ठ नगरपालिका–७ निवासी मन्दिरा चापागाईं खड्का पनि एक्कासि बत्तीको झुमर हल्लिएपछि आत्तिएर बाहिर निस्कनुपरेको बताउनुभयो । “विसं २०७२ को भूकम्पपछि यति धेरै हल्लाएको आजै हो । धन्न केही भएन, हामी त ठूलो क्षति हुन्छ कि भनेर आत्तिएका थियौँ”, उहाँले भन्नुभयो ।

नेपालको उत्तरपूर्वी सीमा नजिक चीनको स्वशासित क्षेत्र तिब्बत प्रान्तको दिंगी काउन्टीमा केन्द्रविन्दु भएर सात रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर ५० मिनेटमा उक्त स्थानमा भूकम्प गएपछि सङ्घीय राजधानी काठमाडौँसम्मै धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरू आत्तिदै घर बाहिर निस्किएका देखिन्थे । काठमाडौँसहित नेपालका पूर्वी पहाडी जिल्लामा भूकम्पको ठूलो धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता मोनिका झाले देशका पूर्वी जिल्लाहरुमा र मध्य नेपालका काठमाडौँलगायत सहरमा भूकम्पको धक्का बढी महसुस भएको बताउनुभयो । यसको परकम्प अझै आउनसक्ने भएकाले नआत्तित उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

“सात रिक्टरको भूकम्प गएकाले यसको परकम्प आइरहन्छ, यसबाट आत्तिनुपर्ने अवस्था छैन । परकम्प बढीमा ४, ५ र ६ रिक्टरसम्मको जानसक्ने भएकाले त्यसले खासै असर गर्दैन”, प्रवक्ता झाले भन्नुभयो ।

भूकम्पबाट हालसम्म नेपालमा कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ । पूर्वी पहाडी जिल्लाका केही घरहरू (पुराना घर) मा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको प्रवक्ता झाले बताउनुभयो ।

उहाँका अनुसार चीनको दिंगी काउन्टी आसपासमा एक सयभन्दा बढी परकम्प गइसकेका छन् । चार रिक्टरभन्दा माथिका १२ वटा परकम्प गएका छन् । दिंगी काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका भूकम्पको केन्द्रविन्दु भएको स्थानको औसत दूरी नेपालबाट ९० किलोमिटर रहेको छ ।

नेपालको कोशी, मधेस, बागमती प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यसबाहेक कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा भने धक्का महसुस नभएको जनाइएको छ । कोशी प्रदेशका सङ्खुवासभा, भोजपुर तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बे र पाँचधरमा भूकम्पको कडा धक्का महसुस भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । इलाम, झापा, मोरङ र सुनसरीमा भने सामान्य धक्का महसुस भएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

मधेस प्रदेशका जिल्लामा सामान्य धक्का महसुस भएको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यका र उत्तर तर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लामा कडा धक्का/कम्पन महसुस गरिएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले केन्द्रले छदेखि आठ रिक्टर भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७ दशमलव ६ रिक्टर स्केलको गोरखा भूकम्प गएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.