राजनीतिसमाचार

सुशासन प्रवर्द्धनमा केन्द्रित हुनुपर्छ : मन्त्री पौडेल

नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिक र सुशासनसँग सम्बन्धित विषयमा केन्द्रित भएर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

कांग्रेस कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी र पार्टीको प्रतिनिधित्व गरेका हरेक स्थानमा परिणाममुखी काम गरेको महसुस गराउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले कांग्रेस सरकारमा रहने कुराभन्दा सरकारमा बसेर नागरिकका निम्ति काम गर्नु महत्वपूर्ण विषय भएकाले आफूले सोही नीतिअनुसार काम गरिरहेको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयले स्वास्थ्यको मापदण्ड सरकारी र निजी दुवैतिर एउटै हुनुपर्ने महसुुस गरेर यसका लागि काम गरिहरेको बताउनुभयो ।

“स्वास्थ्य संस्था शय्याको आधारमा वर्गाीकरण हुँदैन, सेवाको आधारमा वर्गीकरण हुन्छ । त्यसैले एउटा विशिष्टकृत सेवा दिने र अर्को आधारभूत प्राथमिक सेवा दिने अस्पतालका रूपमा विकास हुन आवश्यक छ” मन्त्री पौडेलले भन्नुभयो,“आधारभूत अस्पतलाले निःशुल्क उपचार गरेको हुनुपर्ने र विशिष्टकृत अस्पतालले नसक्नेलाई निःशुल्क सेवा र सक्नेलाई यथोचित मूल्य लिएर उपचार प्रदान गर्ने हुनुपर्छ । त्यसैले हामीले तहगत अस्पतालको विभाजन गर्ने प्रक्रिया सुरु गरेका छौँ ।”

उहाँले मन्त्रालयले सातै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको र सबै प्रदेशमा मुटु रोगको उपचार सेवा विस्तार गर्ने योजना बनाइरहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका सबै अस्पतालहरूमा सिकलसेल एनिमियाको औषधि निःशुल्क उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढेको मन्त्री पौडेलको भनाइ छ । “यसका लागि मित्रराष्ट्र भारतको सहयोग हुने गरी करिब कुरा टुङ्गिएको छ, अब सम्झौताका लागि पहल भइरहेको छ”, उहाँले कार्यकर्तामाझ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.