बाहिर बाहिर राष्ट्रवादी देखिने भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरे
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बाहिर बाहिर राष्ट्रवादी देखिने, भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने जत्था भएको बताउनुभएको छ ।
धनगढीमा शुक्रबार आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादीसंग सचेत रही चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गर्नुभयो ।
उहाँले आउने आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान समेत गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भन्नु भयो, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।”
महाकालीबाट दश क्युसेक पानी छाड्ने सहमति
प्रधानमन्त्री ओलीले हड्पिएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्शा छापिँदा केहीबाट देशमा कोकोहोलो र असहज स्थिति सिर्जना गरिएको बताउँदै भन्नुभयो, “बाहिर बाहिर राष्ट्रवादी देखिन, भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने हुन् ।
प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइको व्यवस्थापन गर्न महाकाली नदीबाट दश क्युसेक पानी छाड्ने सहमति भारतसँग केही दिनअघि भएको जानकारी दिँदै परराष्ट्रमन्त्रीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने गरी मूर्त रुपमा कुरा गर्न लागिएको बताउनुभयो ।
उहाँले चाँदनी दोधारामा सुख्खा बन्दरगाह, पञ्चेश्वर परियोजना, सेती लोकमार्ग र महाकाली करिडरको निर्माणको काम अघि बढाउन लागिएको, गेटा विमानस्थलको थप स्तरोन्नतिको पहल गरिएको र निर्माणाधीन गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालनको तयारी भइरहेको तथा दार्चुलाको छाङ्रुमा मोटरेबल बाटो पु¥याउने र बैतडीमा फोस्फरस खानीको विकास गरिने जानकारी पनि दिनुभयो ।
प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राजधानी बाहिर आयोजित पहिलो आमसभामा सहभागी हुँदै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् परियोजना स्वदेशकै वा अरु लगानी खोजेर भए पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा सुदूरपश्चिमका संयोजक एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पनि समसामयिक विषयमा बोल्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्