बहुमतको बल- प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय
संघीय सरकार समेत संचालन गरिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश नं. ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने प्रस्ताव गरेपछि राजधानीका विषयमा प्रदेश सांसदहरुबीच असन्तुष्टि व्यक्त भए पनि अन्ततः बहुमतको बलमा प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।
शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । तर सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् ।
प्रदेशको नामका विषयमा सबैको लगभग सहमतित भए पनि राजधानीलाई लिएर सांसदहरु विभाजित भएका थिए । नेकपा केन्द्रीय सचिवालयले ह्वीप जारी गरेरै भए पनि हेटौंडालाई राजधानी बनाउने निर्णय गरेपछि नेकपाकै सदस्यहरुले ह्वीप उल्लंघन गर्ने चेतावनी दिंदैआएका थिए ।
प्रदेशका अधिकांश सदस्यहरु काभ्रेलाई राजधानी बनाउनुपर्ने मतमा छन् । उनीहरुका अनुसार हेटौंडा आफैंमा साँघुरो हुँदै गएको र काभ्रे विकासमा पछि परेको हुँदा काभ्रेलाई राजधानी बनाउँदा सबै दृष्टिकाणले उपयुक्त हुने बताउँदै आएका छन् । हुन पनि संघीय राजधानी समेत रहेको प्रदेश ३ का अधिकांश सांसदहरु उपत्यका आसपासका छन् ।
अहिले हटौँडाका प्रदेशसभा सदस्यको बस्ने खानेसमेत टुङ्गो नहुँदा र होटलमा बस्नु पर्दा तलबसमेत नबच्ने गरेको गुनासो पनि उत्तिकै छ । हेटौंडा जाने सडक जीर्ण भएको र ज्यान जोखिममा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतासमेत रहेको भन्दै अधिकांश सदस्यले प्रदेश राजधानी हेटौँडा अनुपयुक्त रहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्