जापानमा २४ घण्टामा कोरोनाबाट सात हजारभन्दा बढी संक्रमित
जापानमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या सात हजार १ सय ९ पुगेको छ । शहरी क्षेत्रमा सङ्क्रमण दर निरन्तर वृद्धि भएपछि प्रधानमन्त्री योशिहिडे सुगाले गत बिहिबारदेखि टोकियो, कानागावा र चाइबा क्षेत्रमा स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुभएको छ ।
जापानको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले बताए अनुसार जापानमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ८१ हजार ९९२ पुगेको छ भने चार हजार २० सङ्क्रमित विरामीको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले गम्भीर अवस्थामा रहेका कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या ८२७ रहेको छ । उनीहरूलाई सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखी सेवा प्रदान गरिराखिएको छ ।
महामारीको केन्द्र मानिएको राजधानी टोकियोमा शनिबार दुई हजार २६८ थप सङ्क्रमित रहेको पुष्टि गरिएको छ । एकै दिनमा राजधानीमा दुई हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो । राजधानी टोकियोमा मात्र सङ्क्रमित हुनेको सङ्ख्या ७३ हजार ४५० पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्