ओलीले देउवालाई गुरुजी भन्दै संसद भंगको इतिहास सुनाएपछि
सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसद भंग गर्ने गुरुको संज्ञा दिनुभएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले अहिले संविधानको रक्षा नै चुनौती बनेको बताउनुभएपछि ओलीले संसद भंग गर्ने काम कांग्रेसले सुरु गरेको बताउँदै गुरुको संज्ञा दिनुभएको हो ।
बैठकमा सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएपछि सम्बोधन गर्नुभएका ओलीले देउवालाई संसद भंग गर्ने गुरु बताउँदै आफू अनुकूलको व्याख्या नगर्न आग्रह गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका गरेका छन् । उनले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुनसक्ने पनि बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताउँदै भन्नुभयो, जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ तर, कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्