विकास गाउँतिर उकालो लाग्दा नागरिक तलतिर किन झरे ?
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास गाउँतिर उकालो लाग्दैगर्दा नागरिक तलतिर किन झरे भन्ने प्रश्न गर्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याएर जनतालाई विश्वस्त पार्ने सामथ्र्य निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले विकास गाउँतिर उकालो लाग्दै गर्दा नागरिक तलतिर झर्ने क्रम बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनुभयो ।
एमाले जिल्ला कमिटी गुल्द्वामीरा बुधबार आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उहाँले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताउँदै जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने स्पस्ट गर्नुभयो ।
महासचिव पोखरेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले एमालेमाथि यतिबेला सबैले प्रहार र निशाना बनाउन थालेको आरोप लगाउनुभयो ।
पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले प्रशिक्षण राजनीतिक र सैद्धान्तिक विषयमा मात्र नभइ अब विकास र राजनीतिका प्रश्नमा पनि अगुवा बनेर आफूलाई प्रस्तुत गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गर्नुभयो ।तीन दिनसम्म सञ्चालन हुने उक्त जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापा, रचना खड्का, दिनेश पन्थी, नेता राजेन्द्र अर्याललगायतका नेताको सहभागिता रहेको जिल्ला अध्यक्ष वालसिंङ काउछाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्