पटकपटक सारिदै आएको पल शाहको मुद्दाको सुनुवाई माघ ३ गते
नाबागिकमाथि जर्वजस्ती करणी गरेको अभियोगमा कारागार जीवन बिताइरहेका अभिनेता पल शाह बिरुद्धको मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको छ ।
यसबीच तनहुँ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइका लागि माघ ३ गते पेशी तोकिएको जनाएको छ । बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् ।
नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी हाल थप अनुसन्धान भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
बाल यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा नायक शाहविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्ष कैद सजाय तोकेको थियो ।
माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाए तोक्ने फैसला हुने अनुमान गरिएको छ । नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्रचार भएको शाहको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।
न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गर्नुभएको तनहुँ जिल्ला अदालतले जनाएको छ । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको थियो ।
गत फागुन ११ गते बालिकाका बुवाले छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो ।
शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आउनुभएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्