काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ । आइतबार काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयानका लागि अदालत पुग्नुभएका लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । रास्वपाका सभापति लामिछानेको आइतबार दिनभर बयान चलेको थियो ।
तर आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो । लामिछानेको बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएको थिएन ।
रवि लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गर्नुभएको थियो । त्यस्तै उहाँका वकिलहरूले पनि परिवार वा वकिलको जिम्मामा छाड्न भनेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिनुभएको हो । लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्