सन्दीपलाई शर्तसहित धरौटीमा छाड्न आदेश
उच्च अदालत पाटनले नाबालिकलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई शर्तसहित धरौटीमा छाड्ने आदेश दिएको छ ।
लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिए पनि अदालतले सन्दीपलाई विदेश जान रोक लगाउँदै चार वटा शर्त राख्दै ती शर्त पूरा नभएमा आफ्नो आदेश निष्क्रिय हुनसक्ने बताएको छ ।
अदालतले आफ्नो आदेशमा सन्दीप विदेश गएको तथ्यसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो तथ्य प्रमाणित भएमा धरौटीमा छाड्ने आदेश खारेज हुने पनि उच्च अदालतको आदेशमा उल्लेख छ ।
यस्तै लामिछानेले विचाराधीन यो मुद्दाको बारेमा कुनै टीकाटिप्पणी गरेको प्रमाणसहित जाहेरीकर्ता किशोरी वा उनको परिवारको सदस्य वा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदन व्यहोरा प्रमाणित भएमा पनि आदेश खारेज हुनसक्नेछ ।
सन्दीप आफैंले वा उनका आफन्तले किशोरी र उनका आफन्त र परिवारसँग सम्पर्क गरेमा र उनीहरुलाई कुनै डर, त्रास, धम्की वा दबाव दिएमा वा प्रलोभनमा पारेमा पनि आदेश खारेज हुने उच्च अदालत पाटनले भनेको छ ।
प्रतिक्रिया राख्नुहोस्