प्रदेश

कुनै बेला साहुजनको घरमा काम गर्ने कम्लहरी सहकारी हाँक्दै

समयले कोल्टे फेर्छ भनेको सही हो । कुनै बेला साहुजनको घरमा काम गरेर जीविकोपार्जन गर्ने मुक्त कम्लहरीले पुनःस्थापनापछि गाउँमै सहकारी स्थापना गरेर उदाहरणीय काम गरेका छन् ।

उनीहरुले समाजमा देखाएको अग्रसरताले कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावका महिलाको दिनचर्या फेरिएको छ । गाउँका ५७ जना मुक्त कम्लहरी एकजुट भएर सहकारी स्थापना गरेर जीविकोपार्जनका लागि कृषि, खुद्रा पसल, च्याउ खेती, बाख्रापालन र माछापालनलगायत आयमूलक काममा लागेका स्थानीय महिलाले सहकारीमार्फत नै गाउँमा उदाहरणीय काम गरिरहेका छन ।

सात वर्षअघि गाउँमा सम्झना महिला कृषि सहकारी संस्था स्थापना गरेर आयमूलक काम थालेका मुक्त कम्लहरीलाई अहिले गाउँका अन्य महिलासमेतले साथ दिएका छन् ।

“शुरुआत हामी मुक्त कम्लहरीले गर्‍यौँ”, सहकारीका अध्यक्ष कमला चौधरीले भन्नुभयो, “गाउँका विपन्न परिवारका महिलालाई पनि आयमूलक व्यवसायमा लगाउन प्रेरित गर्ने उद्देश्यले सहकारीमा सेयर सदस्य २७९ जना महिला पुर्‍यायौँ ।” मुक्त कम्लहरीसमेत रहेकी अध्यक्षले हाल सहकारीमार्फत रु २९ ५० हजारको कारोबार सम्हालेको बताउनुभयो । “शुरुआतमा मासिक बचत रु पाँचबाट थालेका थियाँै”, उहाँले भन्नुभयो, “अहिले समूहबाटै किसानलाई ऋण लगानीदेखि मलखादसम्म गाउँमै उपलब्ध गराइरहेका छौँ ।”

सहकारीबाट ऋण लिएर महिला तरकारी खेती, च्याउ खेती र माछा पालनदेखि विभिन्न व्यापारमा संलग्न रहेका छन् । “जीवनका धेरै वर्ष घरको चुलोचौको मै बितायौँ”, चौधरीले भन्नुभयो, “सहकारीमार्फत कृषिमा लाग्दा अहिले अरुको भर पर्नुपरेको छैन ।”

त्यसैगरी सहकारीमा आवद्ध मुक्त कम्लहरी गीता चौधरीले आफ्नै व्यवसायमा सक्रिय हुँदा अरुको काम गर्न जान रोकिएको बताउनुभयो । “पहिले गाउँका महिला मिलेर सीमावर्ती भारतीय किसानसमेतको काम गर्न जान्थ्यौँ”, उहाँले भन्नुभयो, “अहिले आफैंले उत्पादन गरेको तरकारी विक्री वितरणमा जुटेका छौँ ।”

उक्त सहकारीसित गाउँका दश वटा कृषि समूह आबद्ध रहेका छन् । सहकारी अध्यक्ष चौधरीले गाउँमा रु २२ लाख २४ हजार ऋण लगानी गरिएको बताउनुभयो । “रु पाँच लाख सहकारीमा बचत छ”, चौधरीले भन्नुभयो, “सदस्यले आयमूलक कामका लागि सहुलियतमा ऋण सुविधा पाइरहेका छन ।”

त्यसैगरी मुक्त कम्लहरी सुनिता रानाले सहकारीमा आवद्ध मुक्त कम्लहरी आयमूलक काममा व्यस्त रहेको बताउनुभयो । “गाउँका करिब ४२ परिवारमा मुक्त कम्लहरी रहेका छन्”, रानाले भन्नुभयो, “मुक्त भइसकेपछि प्रायः सहकारीमा आबद्ध भएर गाउँमा सक्रिय नै छन् ।”

विसं २०७० सालमा यहाँको देखतभुली गाउँमा दुई वर्ष कम्लहरी बसेकी रानाले कक्षा ७ सम्मको शिक्षा हासिल गरे पनि सहकारीको व्यवस्थापनमा अब्बल हुनुहुन्छ । “घरको अवस्थाले कम्लहरी बसेँ”, रानाले भन्नुभयो, “अहिले अवस्था सामान्य छ ।”

उहाँले मुक्त कम्लहरी विकास मञ्चको सहयोगमा गाउँका मुक्त कम्लहरीले नास्ता बनाउने तालीमसमेत लिएको जानकारी दिनुभयो । “तालीम लिएका मध्ये छ जनाले अहिले गाउँमै नास्ता पसल सञ्चालन गरेका छन्, आयमूलक काममा लाग्न सीपमूलक तालीम पाउँदा पनि सहजता मिलेको छ”, उहाँले भन्नुभयो ।

सहकारी स्थापनादेखि विभिन्न प्राविधिक विषयमा सहयोग गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लूए) कञ्चनपुरले जीविकोपार्जन कार्यक्रममार्फत सहकारीलाई रु पाँच लाख अनुदान रकम उपलब्ध गराएको जनाएको छ ।

सङ्घका संयोजक राजकुमार सुनारले मुक्त कम्लहरीलाई समाजमा पुनःस्थापन र आत्मनिर्भर बनाउन सहयोग गरिएको बताउनुभयो । “त्यहाँ आयमूलक काममा लागेका महिला किसानलाई अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहसमेतले सहयोग गरिरहेका छन्”, सुनारले भन्नुभयो, “अझै लक्षित वर्गसम्म आयमूलक व्यवसायमा अग्रसरता गराउन आवश्यक छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.