किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार सर्लाही ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
एक १५ वर्षीय किशोरको भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागिरहेको उजुरीको आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाइकलमा भाग्दै गरेका विक्रम पासवान र प्रवचन साहलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, गोली दुई राउन्ड, एक थान मोबाइल सेट, धारिलो सानो चक्कु र हतौडा एक-एक थान बरामद गरेको प्रनाउ श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेकाहरूको बयानका आधारमा किशोरलाई बन्धक बनाएर राखिएको घरधनी रामजी साहलाई प्रहरीले पक्राउ गरेको हो । अपहरित किशोरलाई बन्धक अवस्थाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्