दुर्घटनास्थलमा भिड हुँदा कठिनाइ, उद्धारका लागि हेलिकोप्टर परिचालन
पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ ।
उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ ।
पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका ट्याङ्कर पुर्याउनसमेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए ।
विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिनुभयो ।
पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट एनएएलएक्स र एनएएलए हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।
साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्