“पहिलो वर्षमा केही मानक स्थापित भयो, दोस्रो वर्ष थप उपलब्धमूलक बनाउनेछु”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एक वर्षको अवधिमा केही नयाँ मानक स्थापित गरेको दावी गर्दै अब दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताउनुभएको छ ।
सोमबार दिउँसो अर्घाखाँचीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षका उपलब्धि टेकेर दोस्रो वर्षमा थप उपलब्धि हाँसिल गर्ने बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन’’ कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
सो क्रममा उहाँले भन्नुभयो, ‘‘तपाईहरूलाई थाहै छ– मैले तेस्रो पटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिनेरनदिनेमा निकै ठूलो संशय थियो । तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन् ।’’
उहाँले भन्नुभयो, ‘‘यस अवधिमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ । बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ । यो हाम्रा लागि खुसीको कुरा हो । तसर्थ उत्साही भएर काम गरौँ ।’’
उहाँले अर्घाखाँची जिल्लाको विकासमा सङ्घीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गर्नुभयो ।
नेपाली काँग्रेसकी नेता एवं प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीको सडक, शिक्षा स्वास्थ्य, कृषि र पर्यटनको विकासमा केन्द्रीय योजनाहरु हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्