तारेभिर
हिजो वीरहरु धेरै थिए मेरो देशमा
आज भिरहरु धेरै छन यो देशमा
कहालीलाग्दो अक्करे भिर छ !
दारुण कथा बोकेको दमिनी भिर छ
कर्णालीको मान्छे खाने हिमाली भिर पनि छ
महाभारत श्रृङ्खलामा चुरे पहाडका भिर छन्
अनि
शिलाजीत बर्षाउने अनगिन्ति भिरहरु पनि छन् !
युवाहरु जहाज चड्छन् , देशबाट टाढा भाग्छन्
ती भिरहरुलाई एक्लै एक्लै छाडेर !
कठै ! ती भिरहरु पनि
निस्फिक्री छैनन, आतंकित छन् :
पहाड फोरेर प्लटिङ बेच्नेहरुसँग,
रुख नासेर हावा बेच्नेहरुसँग,
मुहान मासेर पानी बेच्नेहरुसँग,
युवा श्रम बेचेर रेमिट्यान्स भित्र्याउनेहरु सँग !
त्यस्तै बग्रेल्ती कथाहरुको बिचमा
उस्तै ब्यथा बोकेको छ यो तारेभिरले !
राजाधानी उपत्यकामा ठिङग उभिएको छ
मणिचुर, बुढानिलकन्ठ, सुन्दरीजलको लहरमा
उत्तरी सिमानामा शिवपुरीको साँध गांसेर!!
यज्ञडोलको फेरो समाउदै, छिनेको पहिरो फड्किदै
यो धराले तानिरहन्छ,
भूकम्पले खुइल्याएको उस्को तालु सुम्सुम्याउन !
न चढाएको थिएँ निवेदन ब्रम्हाजीलाई,
न तपस्या गरेको थिएं बिष्णु भगवानसँग,
न भक्ति खन्याएको थिएं शिवशंकर सामु,
न त मैले तपस्या गरें बुद्धले जसरी !
म जन्मिएँ यसैको फेदीमा
काँठे गाउँमा
बीरहरुको इतिहास बोकेको
ॠषि-मुनीले ज्ञान छरेका
ध्यानी-बुद्ध अनुयायीका पशिनाले सिँचेको
तारेभिरमुनिको यही पुण्य भूमिमा
तारेभिरमुनिको यही पुण्य भूमिमा
(२०८०, माघ १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा आयोजित ‘दशौं तारेभिर महोत्सव’मा वाचित कविता)
प्रतिक्रिया राख्नुहोस्