क्रिकेटखेल

पुलिसले जित्यो जय ट्रफीको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११/११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए ।

दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो । नौ विकेटको क्षतिमा एक सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो ।

थप सात रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले एकसय दुई रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे । सागर ढकाल छ रनमा नटआउट रहे ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५, दिलीप नाथ ३४, राशिद खान १८, ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । त्यसबाहेक पुलिसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका बसिर र साहब आलमले समान पाँच/पाँच विकेट लिए । पहिलो इनिङमा पुलिसले नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले एक सय ७० रन बनाएको थियो ।

आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । उनले ५५ बलमा छ चौका र तीन छक्का प्रहार गरेका थिए । बसिरले ४०, सोमपालले ३२ तथा कप्तान विनोदले १४ रन बनाए ।

पुलिसका लागि सागरले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । कुशल भुर्तेलले तीन तथा ललित र गुलशन झाले समान एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए ।

अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका छन् । आर्मीका साहब आलमले सात, सोमपाल र बसिर अहमदले समान एक विकेट लिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.