जन सरोकार

रामको मूर्ति बनाउन कालीगण्डकीको शिला हस्तान्तरण

म्याग्दीको भूगोल भएर बग्ने कालीगण्डकी नदीको देवशिला भगवान् रामको जन्मभूमि मानिने भारतको फैजावाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ ।

हिन्दूहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीरामजन्म भूमि मन्दिरमा बनाइने भगवान् श्रीरामको बालरूपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारको शिला अयोध्या लगिने सम्पूर्ण तयारी पूरा भएको छ ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतबार बिहान १०ः२० को शुभ साइतमा धार्मिक विधिअनुसार क्षमा पूजा र गङ्गापुजन गरेर शिला जनकपुर मन्दिरका पीठाधीश राम तपश्वेरदास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीक स्वरूप तीन शालिग्राम हस्तान्तरण गर्नुभएको छ ।

क्षमा पूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खुमबहादुर गर्बुजा (खम्बिर), निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र अगुवाको उपस्थिति थियो ।

क्षमा पूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पीठाधीश रामतपश्वेर दासमार्फत अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव पंकजलाई शिलाको प्रतीक स्वरूप तीन शालिग्राम हस्तान्तरण गर्नुभएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान, नाप जाँचको काम सकिएपछि पठाउनुअघि क्षमा पूजा गरिएको हो ।

जनकपुर मन्दिरका पीठाधीश रामतपश्वेर दासले अयोध्यामा रामको मूर्ति बनाउन लगिने शिलासँगै जानकी मन्दिरमा सीताको मूर्ति बनाउन अर्को शिला पनि लगिने बताउनुभयो । “हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ”, उहाँले भन्नुभयो, “यहाँको शिला लगेर मूर्ति बनाउँदा कालीगण्डकीको महत्त्व अझै उजागर हुन्छ र बढ्छ ।”

शालिग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवान् कै प्रतीक भएको राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताउनुभयो । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिकाका प्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन गरी टिपरमा राखेर बाजागाजा र पूजाआजा गरेर केही दिनमै जनकपुर पठाइने जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य निधिले सरकारी तवरमा विभिन्न चरण र प्रक्रिया पूरा गरेर कालीगण्डकीको शिला उपलब्ध गराउन लागिएको बताउनुभयो ।

“अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ”, उहाँले भन्नुभयो । बेनीनगरपालिका, गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्यनिधिले बताउनुभयो।

अयोध्याको इतिहास

सरयु नदीको तटमा अवस्थित अयोध्याधाम हिन्दू धर्मावलम्बीहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो । यो भारतको उत्तर प्रदेशको फैजावाद जिल्लामा पर्दछ । मुगल सम्राटले सन् १५२८ मामस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ । सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दूलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए ।

सन् १९९२ मा विश्वहिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति पु¥याएका थिए । त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । सोही समय हिन्दूहरूले बाबरी मस्जिद भत्काएका थिए । मस्जिद भत्काइएपछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रूपमा रहेको थियो ।

सन् २०१९ नोभेम्बर ९ मा सर्वोच्च अदालतले विवादितस्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसलापछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको भूमि पूजा गरेर सन् २०२४ भित्र निर्माण कार्य पूरा गरिसक्न निर्देशन दिनुभएको थियो । अहिले सोही स्थानमा राम मन्दिर निर्माण भइरहेको छ । मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ । ट्रस्टका अधिकारीहरूको भनाइमा चार हजार करोड भारतीय रुपैयाँमा मन्दिर निर्माण भइरहेको छ ।

सोही मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान् श्रीरामको बालवयको मूर्ति राखिने राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताउनुभयो । उहाँका अनुसार मन्दिर निर्माण कार्य पूरा भएसँगै त्यहाँ जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट तयार पारिने धनुषसमेत राखिनेछ ।

उक्त धनुषले राजा जनककी छोरी सीतासँग रामको विवाह भएको घटना स्मरण गराउनेछ । यसबाट नेपाल र भारतको सम्बन्ध कति पुरानो रहेछ भन्ने प्रष्ट हुनेछ । यति मात्र होइन, राम मन्दिरमा राखिने धातुको धनुषले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको अयोध्यामा धनुष र कालिगण्डकीको शिलाबाट रामको मूर्ति बनाउने अभियानमा संलग्न पत्रकार रामजी दाहालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.