राजनीति

विश्वविद्यालयको कुलपति राजनीतिक नभई प्राज्ञिक व्यक्ति हुनुपर्ने

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसदहरुले विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सुझाव दिएका छन् ।

शुक्रबार समितिमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्ता’सँग भएको छलफलका क्रममा उहाँहरुले उक्त सुझाव दिनुभएको हो । छलफलमा सांसदहरुले संशोधन प्रस्ताव पेस गर्नुभयो ।

संशोधनकर्ता सांसद माधव सापकोटाले विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्दा उपयुक्त हुनुपर्ने धारणा राख्नुभयो ।

विधेयकको दफा २१ मा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री तथा दफा २२ मा सहकुलपतिमा शिक्षामन्त्री चयन हुने उल्लेख छ । सांसद सापकाटोले भन्नुभयो, “कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई चयन गर्नु बढी प्रभावकारी हुन्छ ।

विदेशमा प्राज्ञिक व्यक्तिले नेतृत्व गरेका विश्वविद्यालयले सफलता हासिल गरेका छन् ।” उहाँले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालयको संरक्षक राख्नुपर्नेमा सुझाव दिनुभयो ।

सांसद सापकोटाले विधेयकको दफा ४७ मा सिट सङ्ख्या निर्धारण र विद्यार्थी भर्ना सम्बन्धी संशोधन माग गर्दै सहिद परिवार, बेपत्ता पारिएका, जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलनका घाइते तथा अपाङ्ग, पछाडि परेकालाई निश्चित कोटाको व्यवस्था गरी छात्रवृत्ति दिनुपर्ने विषय समावेश गर्नुपर्ने बताउनुभयो ।

सांसद नारायणी शर्माले विधेयकको दफा २१ मै संशोधनको आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीलाई संरक्षकका रुपमा राखिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री देशको अभिभावक हो । उहाँले विश्वविद्यालयलाई समय त्यति दिन सक्नुहुन्न । त्यसैले कुलपति होइन संरक्षकका रुपमा राख्न उपयुक्त हुन्छ । विधेयक स्वागत योग्य छ ।”

त्यसैगरी संशोधनकर्ता सांसद चन्द्रबहादुर विश्वकर्माले दफा ७ (सभाको गठन), १० (प्राज्ञिक परिषद्को गठन), १२ (कार्यकारी परिषद्को गठन) र १४ (विद्या परिषद)मा संशोधनको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानको मर्मलाई विधेयकले सम्बोधन गरेको छैन । संविधानमा आर्थिक, सामाजिक र शैक्षिक रुपले पछाडि पारिएका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता गराइने भनेर स्पष्ट पारेको छ । त्यसैले यी दफाहरुमा संशोधनको आवश्यकता देखिन्छ ।”

सांसद दुर्गा राईले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्रीलाई चयन गर्नुभन्दा शिक्षा तथा स्वास्थ्यसम्बन्धी विज्ञ राख्नुपर्ने सुझाव दिनुभयो । आगामी बैठकमा विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.