कर्पोरेट/पर्यटन

प्रकाशराजले अर्जेन्टिनाको हिमाल आरोहण गर्ने, प्रधानमन्त्रीद्वारा शुभकामना

पर्वतारोही प्रकाशराज पाण्डे अर्जेन्टिनामा अवस्थित दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण गर्नुहुने भएको छ ।

विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पाण्डेलाई शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिइ नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिनुभएको हो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

पाण्डेले सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नुभएको छ । सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएको थियो ।

त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गर्नुभएको पाण्डे पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।

रामेछाप लिखु तामाकोशी ७, तिल्पुङ स्थायी घरभई हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरिरहनुभएका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आउनुभएको छ ।

पाण्डले आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको बताउनुभयो ।

जलवायु परिवर्तन निम्त्याउन हाम्रो नगण्य भूमिका भएपनि यसका कारणले हामीले विषम परिस्थितिको सामना गरिरहनु परेको हुँदा सबै ठूला र शक्तिशाली राष्ट्रहरुको चासोको विषय हुनुपर्ने उहाँले बताउनुभयो ।

यसै गरी आफ्नो आरोहरणबाट फुटबल मार्फत अर्जेन्टिना चिनेका धेरैजसो नेपाली दक्षिण अमेरिकाको उच्च हिमशिखर अर्जेन्टिनामा छ भन्ने थाहा हुने र अर्जेन्टिनामा पनि सुन्दर पर्वतीय देश नेपालको बारेमा थप परिचय स्थापित गर्न भूमिका खेल्ने विश्वास पाण्डेले लिनुभएको छ ।

नेपाल र अर्जेन्टिनाबीच सन् १९६२ मा दौत्य सम्बन्ध कायम भए पनि सामान्य व्यापारिक सम्बन्ध बाहेक विशेष आदानप्रदान भएको देखिंदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.