राजनीति

सभामुख घिमिरे : नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र सङ्घर्षका पर्याय

प्रतिनिधिसभाको सभामुख पदमा बिहीबार निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकले उहाँलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज चयन हुनुभएको थियो ।

झापा, अर्जुनधारा–६ निवासी घिमिरे विसं २०१३ जेठ १३ गते ताप्लेजुङ जिल्लाको सिरिजङघा गाउँपालिका–३ मा पदमप्रसाद र भीमकुमारी घिमिरेको माइलो सन्तानका रूपमा जन्मनुभएको हो । गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गर्नुभएका उहाँले ताप्लेजुङकै भानु पब्लिक हाइस्कुलबाट एसएलसी र सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो ।

काठमाडौँको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला उहाँ तत्कालीन नेकपा क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके) को आह्वानमा बुर्जुवा शिक्षा बहिष्कार गरी पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो । विसं २०३१ मा नेपाली कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर उहाँ विसं २०३२ देखि झापा विद्रोहबाट जन्मिएको को–अर्डिनेसन कमिटीमा आबद्ध भई पार्टीको राजनीतिक काममा लाग्नुभएको थियो । उहाँले पञ्चायती शासन विरुद्धको सङ्घर्षका क्रममा पटकपटक जेल, हिरासत र निर्वासनको जीवन भोग्नुभएको थियो ।

विसं २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार आन्दोलनलाई अघि बढाउँदै उहाँ भूमिगत राजनीतिकै क्रममा विसं २०३५ मा को–अर्डिनेसन कमिटी (कोके)को सदस्य बन्नुभयो । विसं २०३५ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता औपचारिक रूपमा प्राप्त गर्नुभएको हो । उहाँ ४४ वर्ष लामो राजनीतिक यात्रामा सरल, सङ्घर्षशील, इमान्दार र बेदाग राजनीतिज्ञको पहिचान बनाउन सफल हुनुहुन्छ । उहाँ शीर्ष तहकै राजनीतिज्ञ भएर पनि लामो समयसम्म लाभको पदको आशा नगरी पार्टीका लागि योगदान पु¥याएका त्यागी, अनुभवी र परिपक्व नेताको रूपमा परिचित हुनुहुन्छ ।

सभामुख घिमिरे विसं २०५६ मा राष्ट्रियसभा सदस्य चयन हुनुभएको थियो । विसं २०७९ को आमचुनावमा पहिलोपल्ट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको हो । नेकपा एमालेका जननेता मदन भण्डारीका सहयात्री घिमिरे मदन भण्डारी फाउण्डेशनको संस्थापकमध्येका एक नेता र झापाको सुखानी सहिद स्मृति पार्कको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

उहाँ विसं २०३५ मा नेकपा मालेको तेह्रथुम र पाँचथर जिल्लाको सङ्गठन विभाग प्रमुख, विसं २०३९ मा इलाम जिल्लाको सेक्रेटरी, विसं २०४९ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण पश्चात गठन भएको नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।

घिमिरे विसं २०५० मा नेकपा (एमाले)को मेची अञ्चल इन्चार्ज, विसं २०५८ मा केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज, विसं २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को अध्यक्ष हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.