उपचार गर्न खर्चको अभावमा २४ वर्षदेखि टाउकोभरि ऐजेरु
खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले अठार वर्षको उमेरदेखि टाउको र शरीरभरि ऐजेरु बोकेर बसिरहनुभएको छ ।
उपचार खर्चको अभावमा अहिलेसम्म समस्या झेल्दै आउनुभएका तिवारीको यतिबेला भने उपचार सम्भव हुने भएपछि खुसी त हुनुहुन्छ तर उपचारमा लाग्ने खर्चको अभावमा निरास हुनुहुन्छ ।
“उपचार त हुने भयो तर पैसा कसरी ल्याउने भन्ने पिर लागिरहेको छ”, उहाँले भन्नुभयो, “मेरो शल्यक्रिया यही माघ १८ गते वीर अस्पतालमा हुने भयो । तपाईँहरुले सहयोग गरेकै पैसाले अस्पतालसम्म आएको छु । अब फेरि सहयोग गरेर मलाई निको बनाइदिन सबैसँग अनुरोध गर्दछु ।”
बिहान÷बेलुकी हातमुख जोड्नसमेत धौ–धौ पर्ने तिवारीको उपचारमा आर्थिक अभाब भएकोे खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि देशरविदेशबाट केही सहयोग भएको छ । उहाँको खातामा रु ६०र७० हजार जम्मा भएपछि अहिले उपचारका लागि काठमाडौँ पुग्नुभएको हो ।
घरमा श्रीमती र दुई छोराछोरी भएको तिवारीको तीन पटकसम्म उपचार गर्ने चिकित्सकले योजना बनाएका छन् । लठ्याउनुपर्ने र ऐजेरु धेरै भएकाले एकै पटक उपचार गर्न असम्भव हुने भन्दै चिकित्सकले तीन पटक गरेर शल्यक्रिया गर्ने योजना बनाएका हुन् ।
अस्पतालले सुरुमा रु ५० हजार डिपोजिट लागि जम्मा गर्नुपर्ने र त्यसपछि शल्यक्रिया र औषधिलगायतको खर्च कति आउँछ उपचार सकिएपछि मात्र थाहा हुने बताएका छन् । शल्यक्रिया र औषधिलगायतको खर्च गरेर रु साढे दुई लाख जतिले पुग्ला कि भन्ने तिवारीको अनुमान छ ।
सामान्य घरखेती गरेर परिवार धान्दै आउनुभएका उहाँ यत्रो खर्च कसरी ल्याउने भनेर रातदिन चिन्तामा हुनुहुन्छ । सामाजिक सञ्जालमार्फत खर्च जुटेपछि महिना दिनअघि काठमाडौँ पुग्नुभएका तिवारी अहिले आफन्तकोमा बसिरहनुभएको छ ।
उहाँको उपचारमा सहयोग गर्न चाहनुहुने जो कोहीले पनि उहाँकै बैंक खातामार्फत सहयोग गर्न सक्नुहुने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक, दिक्तेल शाखामा तिवारीको नाममा खाता खोलिएको छ ।
प्रतिक्रिया राख्नुहोस्