स्वास्थ्य

काठमाडौ महानगरभित्र एकसय वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक ४७ जना

काठमाडौं महानगरपालिकाभित्र शताब्दी आयु (एक सय वर्ष पूरा) गरेका ज्येष्ठ नागरिक ४७ जना रहनुभएको छ । धेरै उमेर हुनेमा एक सय १० वर्ष उमेरको व्यक्ति हुनुहुन्छ ।

यसै गरी नब्बे देखि ९९ वर्षसम्मका आठ सय ६४ जना, ८० देखि ८९ वर्षसम्मका पाँच हजार चार सय ८३ र ७० देखि ७९ वर्षसम्मका १७ हजार तीन सय ७४ ज्येष्ठ नागरिक रहनुभएको कमपा स्वास्थ्य विभागले जनाएको छ ।

विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६ सय ५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार सात सय ७० जना छ ।

कामपामा ज्येष्ठ नागरिकको संख्या यकिन भएसंगै ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगको औषधिसम्बन्धी लगत सङ्कलन गरिरहेको छ ।

कामपामा रहेका ज्येष्ठ नागरिकहरूलाई कस्तो किसिमको रोग लागेको छ र उहाँहरूलाई कस्तो औषधि दिन सकिन्छ भन्ने जानकारी लिनका लागि लगत सङ्कलन गरिरहेको कामपा स्वास्थ्य विभागको भनाइ छ ।

उहाँहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत सङ्कलन गरिरहेको विभागले जानकारी दिएको छ ।

कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उहाँहरूको स्वास्थ्य प्रवद्र्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ, विभागका प्रमुख दीपक केसीले जानकारी दिनुभयो ।

प्रमुख केसीका अनुसार कामपाकै पञ्जीकरण शाखाबाट २०८१ साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार सात सय ७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ ।

मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । हालसम्म एक हजार चार सय ९६ जनाको विवरण प्राप्त भइसकेको छ । उहाँहरूमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.