छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
दाङ, झापा र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दाङ, घोराही उपमहानगरपालिका-१३ दारबोटे चोकमा बसपार्कबाट बराह पेट्रोलपम्पतर्फ जाँदै गरेको रा.५ प ५१७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१७ कर्जाही बस्ने ६५ वर्षीय निम प्रसाद चौधरीको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै झापा, बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकस्थित सडकमा प्र.१-०१-००१ ज ३८५१ नम्बरको बोलेरो र प्र.१-०१-००२ ह ३६३ नम्बरको अटो एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा अटोमा सवार सोही गाँउपालिका-४ बस्ने २७ वर्षीया अमृता तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक र अटोमा सवार २ जनालाई थप उपचारको लागि बिएण्डसीअस्पताल बिर्तामोड पठाइएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सर्लाही, गोडैता नगरपालिका-४ रोहुवास्थित सडकमा बीआर ०५ एच ५७४८ नम्बरको स्कारपियो र बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोडैता नगरपालिका-९ बस्ने ४५ वर्षीय देव नारायण पण्डितको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । प्रहरीले स्कारपियो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्