रविलाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयद्वारा उच्च अदालतमा निवेदन
उच्च सरकार वकिल कार्यालय पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको छ ।
सोमबार कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा जिल्लाको आदेशमा चित्त नबुझेपछि सरकारी वकिल कार्यालय पोखराले निवेदन दर्ता गराएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते रास्वपा सभापतिसमेत रहनुभएका लामिछानेसहितलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि पुस २९ गते नै आफूहरूले उच्च सरकारी वकिल कार्यालयमा निवेदन पठाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा एकजना माननीयले गर्नुभएको आदेशमा चित्त नबुझेपछि हामी उच्च गएका छौँ । जिल्लामा विचाराधीन मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले नै प्रतिरक्षा गर्छ । उच्चको निवेदनको प्रतिरक्षा उच्च सरकारी वकिल कार्यालयको जिम्मेवारी हो ।”
सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी अपचलन गरेको अभियोगमा लामिछानेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ ।
सोही अभियोगमा पक्राउ पर्नुभएका सूर्यदर्शनका पूर्व सञ्चालक कृष्ण गुरुङ, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङ, गोरखा र हर्बो इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल र लीला पछाईलाई जिल्ला अदालत कास्कीले धरौटी छाडेको थियो ।
लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३६ लाख, रामबहादुर खनालसँग १५ लाख, कृष्ण गुरुङसँग एक लाख, मीना गुरुङसँग र आरती गुरुङसँग जनही पाँच लाख धरौटी माग भएको थियो ।
पोखराको सूर्यदर्शन समेतका सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानहरूले देखाएका छन् ।
देशका मुख्य सहरमा सहकारी खोली सङ्गठित रूपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भइसकेको छ । जिबी सूर्यदर्शन ठगीका मुख्य योजनाकार रहेको अनुसन्धानहरूले देखाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्