तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने
महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो ।
सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पुर्याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो । गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शङ्करप्रसाद पण्डितले बताउनुभयो ।
यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ । झण्डै एक किमी खण्डमा कडा चट्टान नै चट्टान रहेको छ । उहाँले भन्नुभयो, “त्यो खण्डबाहेक अरुतिर निर्माण सकिनेछ ।”
यसको निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माललगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने उहाँले बताउनुभयो । स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ । खासगरी सङ्घीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण सङ्घीय बजेटबाट नै भइरहेको हो ।
अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताउनुभयो । यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ । छब्बिस किमीमध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताउनुभयो ।
त्यसमा बीचबीचमा काम गर्नुपर्नेमा काम भइरहेको छ । महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखाङ्कन हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घोरेटोभन्दा ठ्याक्कै नजिकै वा केही तलमाथि पर्नसक्छ ।” झण्डै डेढदेखि दुई मिटरसम्म लम्बाइ हुने गरी घोरेटो बाटो निर्माण अघि बढाइएको विभागले जनाएको छ । कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले जनाएको छ ।
घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदैछ । ठाउँठाउँमा पर्खाल हुनेछन् भने कतैकतै कटिङ गरेर विस्तार गरिने प्रवक्ता पण्डितले बताउनुभयो । कडा चट्टान भएका ठाउँमा भने एक किमी मात्रै चौडाइ हुनसक्ने उहाँको भनाइ छ ।
नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्ने सो घोरेटोे बाटोको बजेट जम्मा रु चार करोड छ । खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ । दुहुँ र व्यास गरी दुवै पालिकाका केही खण्डमा सडक बनेको भए पनि दुर्गम क्षेत्रमा सडकको पहुँच छैन । उहाँले भन्नुभयो, “सडक बन्न बाँकी दुर्गम क्षेत्रमा घोरेटोले पनि जीवन केही सजिलो बनाउन सक्छ ।”
गत आवमा भारतीय सरकारले लिपुलेकसम्म सडक निर्माण सम्पन्न गरेको थियो । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा प्रकाशन गरेको दुई वर्ष बित्यो । अहिले पनि लिपुलेक सडक सञ्जालसँग जोडिएको छैन । सरकारले गत वर्ष नै विशेष महत्व दिएर घोरेटो बाटो निर्माण सुरु गरेको थियो । महाकाली राजमार्गको निर्माण सुरु भए पनि सम्पन्न हुन केही वर्ष लाग्ने हुँदा त्यसको विकल्पका रुपमा घोरेटो बाटोको निर्माण गरिएको हो ।
गत आवमा नै अर्थ मन्त्रालयले विशेष महत्वका साथ यो बाटोका लागि रकम छुट्याएको थियो । व्यास–२ दुम्लिङदेखि छाङ्गरुसम्मको घोरेटो निर्माणका लागि पुष्पाञ्जली रिठगडे निर्माण सेवा दार्चुलासँग ठेक्का सम्झौता गरिएको थियो ।
दार्चुला–टिङ्कर सडकको निर्माणमा ढिलाइ भइरहेकाले पनि घोरेटो बाटो चाँडो सम्पन्न गर्नुपर्ने स्थानीयवासी बताउँदै आएका छन् । गत कात्तिकमा प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोली स्थलगत अवलोकनका लागि पुगेको थियो । समितिले त्यस क्षेत्रमा बाटोको पहुँच नपुग्दा स्थानीयवासीलाई कठीनाइ भएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्