जन सरोकारबिशेष

लहड र रहरमा डाक्टर बनाउने प्रवृत्तिको परिणाम

आफ्ना छोराछोरीलाई डाक्टर, इञ्जिनियर, पाइलट बनाउने धोको हरेक बाबुआमाले राखेका हुन्छन् । यस्तो चाहना राख्नु अस्वाभाविक होइन, तर आफ्ना सन्तान त्यसका लागि योग्य छन् कि छैनन् र उनीहरुको रुची छ कि छैन भन्ने बुझ्ने प्रयास हुँदैन ।

नक्कली डाक्टर पक्राउ

क्षमता, इच्छाबिना कुनै पनि विषय पढेर उत्तीर्ण भए पनि त्यसले फलदायी परिणाम दिंदैन । यस्तै अवस्था नेपालको चिकित्सा शिक्षामा देखा परिरहेको छ । हरेक वर्ष एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षाको नतिजाले यसलाई देखाउँछ ।

पछिल्लो समय यही माघ ८ र ९ गते मंगलबार नेपाल मेडिकल काउन्सिलले लिएको बुधबार चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

एमबीबीएस र बीडीएसतर्फ कुल ८ सय ४४ जना परीक्षामा सहभागी थिए । जसमध्ये २ सय ६२ जना (३१ दशमलव शून्य ४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् । कुल ५ सय ८२ जना (६८ दशमलव ९६ प्रतिशत) अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ । एमबीबीएसतर्फ ६७ दशमलव ९९ र बीडीएसतर्फ ७६ दशमलव ९२ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

मेडिकलतर्फ ७ सय ७० जनाले लाइसेन्सिङ परीक्षामा फारम भरेका थिए । जसमध्ये १७ जना अनुपस्थित थिए । ७ सय ५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २ सय ४१ जना (३२ दशमलव शून्य १ प्रतिशत) मात्र उत्तीर्ण भए । मेडिकलतर्फ ७ जनाको नतिजा रोकिएको छ । ५ सय १२ जना अनुत्तीर्ण भएका छन् ।

त्यसै गरी डेन्टल (बीडीएस) तर्फ ९१ जना परीक्षामा सहभागी भएकोमा २१ जना मात्र (२३ दशमलव ०८ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। ७० जना परीक्षार्थी असफल भएका छन्।

परीक्षामा सहभागीमध्ये अधिकांश विद्यार्थी अनुत्तीर्ण हुँदा मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तर कमजोर रहेको र नेपालको चिकित्सा शिक्षाको पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

विद्यार्थीसँगै प्राध्यापक, मेडिकल कलेज सञ्चालक, नियमनकारी निकायमा रहेका पदाधिकारीका लागि समेत लाजमर्दो विषय भएको चिकित्सा शिक्षाका अभियन्ताहरू बताउँछन्।

अनुत्तीर्ण हुनेमा विदेशमा पढेर आएका बढी रहेको अनुमान छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की नेपालबाहिर पढेर आएका विद्यार्थीहरू बढी फेल भएको हुन सक्ने बताउनुहुन्छ ।

‘डा. कार्की चिकित्सा शिक्षामा गरिएको लगानी सही कि छैन भन्ने विषयमा राज्यसँगै अभिभावकहरूले पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको बताउँदै लाइसेन्सिङ परीक्षामा पटक—पटक असफल हुनेलाई के गर्ने भन्ने चिन्ताको विषय बनेको बताउनुहुन्छ ।

चिकित्सा सेवाको लाइसेन्सिङ परीक्षामा उत्तीर्ण नभएसम्म सहभागी हुन पाइन्छ। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालका अनुसार, विगतमा पटक–पटक परीक्षामा सहभागी भएका पुराना परीक्षार्थीहरू यसपटक पनि लाइसेन्सिङ परीक्षामा असफल भएका छन्।

किन यतिधेरै विद्यार्थीहरु अनुत्तीर्ण भैरहेका छन् ? यसको एउटै कारण दवाव रहेको चिकित्सा शिक्षाका प्राध्यापकहरूको तर्क रहेको छ । उनीहरुका अनुसार, अभिभावकको दबाबमा चिकित्सा पढेका औसत विद्यार्थीहरू लाइसेन्सिङ परीक्षामा असफल हुने गरेका छन् ।

केही वर्षयतादेखि चिकित्सक सेवाको अनुमतिपत्रको परीक्षामा बहुसंख्यक विद्यार्थी अनुत्तीर्ण हुनु अुभभावकको दवावका कारण क्षमता र रुची नभएका विद्यार्थीहरू पनि चिकित्सा शिक्षा अध्ययन गर्नु रहेको विज्ञहरु बताउँछन् ।

चिकित्सा शिक्षा पढ्न रुचिसहित योग्य छ, छैन मतलवै नगरी अभिभावकहरू सन्तानलाई डाक्टर बनाउन लागिपरेको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन प्रा.डा. जगदीश अग्रवाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, कमजोर विद्यार्थीलाई पनि भर्ना गर्दाको परिणाम लाइसेन्स परीक्षामा देखिँदै छ। धेरै जना लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेका छन्। कतिपय त पटक–पटक परीक्षामा सहभागी हुँदा पनि उत्तीर्ण हुँदैनन्। यसले हाम्रो चिकित्सा शिक्षाको कमजोर अवस्था देखाउँछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.