राजनीति

सिद्धबाबा सुरुङमार्ग अन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरबको आयोजना सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिने काम (ब्रेक थ्रु) भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उपस्थिति जाउँदै सुरुङको ब्रेक थ्रु गर्नुभएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।

प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग छिचोलिने काम भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।”

यसअघि सुरुङमार्ग अन्तर्गत १५१ मिटर लम्बाईको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ब्रेक थ्रु गरिएको थियो ।

७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.