राजनीति

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’, शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार ‘ब्रेक थ्रू’ भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली

‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा शुक्रबार सो सुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकामा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत उहाँ सो कार्यक्रममा सरिक हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरुलाई राहत दिन सो सुरुङमार्ग एक सफल आयोजना सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो सुरुङमार्गबाट लाभ लिइ राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।

यसअघि त्रिभुवन राथपथअन्तर्गतको थानकोट–नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“सुरुङमार्ग ब्रेक थ्रू हुनु सिङ्गै देशका लागि खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । “मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको समयमा हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ देश । फाइदा हुने कामकुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु सदैव यसैतर्फ केन्द्रित छन् ।”

कार्यक्रम स्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बोधनको पूर्णपाठः
सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रू’ कार्यक्रमका सभापति महोदय, उपप्रधानमन्त्रीज्यूहरु, मूख्यमन्त्रीज्यू, नेपालका लागि चिनियाँ राजदूत, नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत र यहाँ उपस्थित हुनुुभएका सम्पूर्ण महानुुभावहरु !

आज खुसीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रू गर्न सफल भएका छौँ । केही वर्ष अगाडि म बुटवल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरुले गीत गाउनुुभएको थियो– ‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड ?’ भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेकौँ वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे । त्यो गीत त्यसैकारण उब्जिएको थियो–‘कहिले बन्छ नेता ज्यू सिद्धबाबा खण्ड’ भन्ने गीत । त्यो जनताको आवाज गीतका रुपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउँथे अथवा आफ्नै भाषामा त्यो भन्थे ।

आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङका रुपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो । सफलतापूर्वक बन्यो । म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरु भन्दै थिए । तर हुन्छ, हुँदोरहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छुु र सबैलाई शुभकामना भन्न चाहन्छु । बधाई यसकारण कि तपाईंहरु त्यस पीडाबाट तपाईंहरु मुक्त हुनुभएको छ, शुुभकामना यसकारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईंहरुको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापारदेखि लिएर अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडबाडदेखि लिएर सबै कुराहरुको आदानप्रदान गर्न सक्नुहुन्छ । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुुर्‍ याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरु गर्न सक्नुहुन्छ । अब तपाईंहरु एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थू्र भइसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमी रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्यूठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालीगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालका रुपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरुलाई, दाताहरुलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु । छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकामा ठेकेदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङमार्ग थियो, त्यो छिचोलिएको छ ।

मैले धेरै अगाडि, जतिबेला नागढुुङ्गा–नौबिसे सुरुङखण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपालीहरु अब टनेल युगमा प्रवेश गरेका छौँ । अब विस्तारैविस्तारै दुर्गम कच्ची पहाडहरु चढ्दै, पहिरो जाने पहाडहरु चढ्दै गाडीहरु घुुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनुपर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरुलाई छोटा बाटाका रुपमा सुरुङ मार्गबाट वल्लोबेँसीबाट पल्लोबँसी र अझ पल्लोबँेसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुुर्गम सहज नहुने गन्तव्यहरु छोटो मार्गबाट पुग्न सक्छौँ र त्यो हामी प्राप्त गर्न सक्छौँ । पहाडका लागि त्यसबाट सम्पर्क बाटाहरु निर्माण गरेर हामी ती कामहरु गर्न सक्छौँ । हामी त्यहाँ लिङ्क रोडहरु बनाउँछौँ, रिभर करिडोरहरु बनाउँछौँ । नेपालका सबै जिल्लामा अहिले गाडी पुुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुुगम बनाउँदै लानेछौँ । विभिन्न खालका सञ्जालका बाटाहरु, सुरुङमार्गहरु, झोलुङ्गे पुलहरु, पुलहरु, हवाई यातायात, हवाईमार्गहरु, मैदानलगायतका अनेक केबलकारहरुजस्ता कुराहरुबाट हामी अनेक ठाउँहरुलाई सुुगम र रमाइला ठाउँहरु र विकसित ठाउँका रुपमा परिणत गर्नेछौँ । त्यसकारण अब नेपाल विस्तारै दुर्गमबाट सुगम रुपमा, पिछडिएका देशबाट अगाडि बढेको देशका रुपमा, अल्पविकसित देशबाट विकासिल देशका रुपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुदैछ भन्ने यी कुराहरुले देखाएका छन् ।

म दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, यो खुसी तपाईं हामीको खुुसीको हो । यो सिङ्गै देशको खुुसी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरुको ठूलो खुसी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यो यस बाटोबाट सजिलैसँग बुटवल अथवा बुटवलबाट पूर्व–पश्चिम जानुपर्दछ, त्यो सजिलो हुन्छ । त्यसकारण यो सुरुङमार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो । त्यसकारण म सबैमा खुसी व्यक्त गर्न चाहन्छु। सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरुलाई, मजदुरहरुलाई, इञ्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु । स्थानीय जनता, जसले यस सुरुङमार्गको निर्माणका लागि सरकारलाई झक्झक्याउने काम, हामी सबैलाई झक्झक्याउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्‍ याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौँ हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौँ, हामी अरुको पनि सहयोग लिन सक्छौँ, अरुको लगानी आमन्त्रण गर्न सक्छौँ, अरुको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकताअनुसार स्वीकार गर्न सक्छौँ । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोतसाधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्नेछौँ । म सबै साथीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद तथा शुभकामना ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.