जापानराजनीति

नेपालमा जापानी सहयोग जारी रहने राजदूत तोरुको प्रतिबद्धता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत माइदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँले नेपालमा जापानी सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभएको छ ।

शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरूबीच भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले दुई देशबीच ऐतिहासिक सम्बन्ध रही आएको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सम्बन्धमा थप घनिष्टता एवं मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले जापानसँगको सम्बन्ध र सहयोगलाई नेपालले उच्च महत्त्व दिएको उल्लेख गर्नुभयो । उहाँले दुई देशबीच ‘एसियाका ज्योति’ भगवान् बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै राजदूत तोरूको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्तगर्नुभयो ।

उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान सन् १९५४ देखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहीआएको बताउनुभयो ।

“जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “हामी औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”

नेपालका लागि जापानका राजदूतमा तोरूले नेपाललाई जापानी सहयोग जारी रहने उल्लेख गर्दै नागढुङ्गा सुरूङ मार्ग यसै वर्ष सञ्चालनमा आउने बताउनुभयो । नेपालले ‘ओसाका एक्स्पो’ मा सहभागिता जनाउने विषयप्रति आभार उहाँले प्रकट गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.